धनगढी — बाजुराको गौमुल गाउँपालिका-६ सटेडामा घरेलु बन्दुक निर्माण गर्ने स्थानीयको भट्टीमा प्रहरीले छापा हानेको छ । प्रहरीले छापा हान्दा १० थान भरुवा बन्दुकसहित ठूलो परिमाणमा बन्दुक निर्माण सामग्री फेला परेको बाजुरा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार मंगलबार गौमुल-६ सटेडाका स्थानीय ६३ वर्षीय गोरे लुहारको घरबाट भरुवा बन्दुक १० थान, भरुवा बन्दुक निर्माण गर्न आवश्यक पर्ने ३३ नाल, बन्दुकमा प्रयोग हुने छर्रा ३० थान, बारुद एक सय ५९ ग्राम, केप २५ थान, केप बनाउने प्रयोग हुने तामाको पाता,लगायत सामग्री बरामद गरिएको छ । विशेष सुचनाका आधारमा इप्रका गौमुलबाट प्रहरी नायव निरीक्षक कमलसिंह भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लुहारसहित बडिमालिका नगरपालिका-१ सलेनाका गोरख कार्की र बुद्ध कार्कीलाई समेत पक्राउ गरेको छ ।
घटनाको थप अनुसन्धान हुने र हातहतियार तथा खरखजानासम्बन्धी कानुनअनुसार कारबाही हुने प्रहरी निरीक्षक चौधरीले बताए ।