बैतडी: बैतडीकी रबिना चन्द (रुबी) २० वर्षको उमेरमै सार्वजनिक सवारी साधन चलाउने जिल्लाकै साहसी महिला ‘ड्राइभर’ बनेकि छिन्। रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् । पञ्चेश्वर गाउँपालिका–४, निङलाडकी रुबी पालिकादेखि प्रदेश राजधानीसम्म सार्वजनिक यातायात चलाउँदै आएकि छिन् । रुबी वैधानिक हिसाबले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा पास गरेर सार्वजनिक यातायात चलाउने ‘ड्राइभर’ बनेकि हुन् । प्रवीणता प्रमाणपत्र तहको अध्ययन सकेर पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पसमा पहिलो वर्षमा अध्ययनरत रुबीले घरायसी जिम्मेवारी बहन गर्न ड्राइभर बनेको बताइन् । रुबीले चलाउँदै आएको म १ ज ३३३ नम्बरको सार्वजनिक जिप पछिल्लो समय पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका हुँदै प्रदेश राजधानी कैलालीसम्म यात्रु बोकेर हिँड्ने गरेकि छिन् । महिलाले जिप हाँकेको देख्दा सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत सवारी चालक अनुमति पत्र हेरेपछि मात्रै पत्याउने गरेको रुबीले अनुभव सुनाइन् ।
“टिकट काटेर गाडीमा बस्ने अधिकांश सर्वसाधारण ड्राइभर खोइ भन्छन्,” अनुभव सुनाउँदै रुबीले भनिन्, “मै हो नि १ ड्राइभरभन्दा आम मानिस पत्याउँदैनन् । बैतडीबाट प्रदेश राजधानी धनगढी जाँदा बाटोमा सवारी चेकजाँच गर्ने ट्राफिक प्रहरीसमेत छक्क पर्छन । सवारी चालक अनुमति पत्र ओर्काइफर्काइ हेर्छन् । विश्वास नलागेर होला, मेरो फोटोसमेत खिचेर राख्ने गरेका छन् ।”
रुबीका पाइला यसरी मोडिए ड्राइभरतिर
रुबी चन्द छ दिदीबहिनी मध्येकी माहिली छन् । स्वदेशमा रोजगारी नपाउँदा जेठी दिदी मञ्जु चन्द वैदेशिक रोजगारीका क्रममा साउदीमा हुनुहुन्छ । आमा यशोदा चन्द र बुवा डबलबहादुर चन्द गाउँमै किराना पसल चलाएर बसेको रुबीले बताइन् । रोजगारी खोज्न विदेश जानुभन्दा स्वदेशमै केही गरेर देखाउने अठोट लिएपछि बुवा आमाले पैसाको जोहो गरे बोलेरो जिप किनिदिएको उनले बताइन् । महाकाली यातायात समितिमा दर्ता यात्रु बोक्ने बोलेर जिपको अहिले रुबी चन्द लोकप्रिय ड्राइभर बन्नुभएको छ । छोरीले गाडी चलाउने सपना देखेपछि जिप किनीदिएको पिता बडलबहादुर चन्दले बताए ।
ड्राइभर बनेपछि पारिवारिक जिम्मेवारी र पढाइ खर्च राम्रोसँग चलिरहेको रुबीले बताइन् । लाइसेन्स लिएर पाँच महिनादेखि नियमित गाडी चलाउँदा मासिक ३० भन्दा बढी आम्दानी हुन थालेको उनले बताइन् ।गोरखापत्रबाट