कञ्चनपुर — घर अगाडि आँगनसँगै जोडिएको जमिनमा सयपत्री र मखमली ढकमक्क फुलेका छन् । रंगीचंगी फूलले तिहार नजिकिँदै गरेको महसुस गराउँछ । बटुवा पनि एकछिन रोकिएर फूलबारी हेर्छन् । महाकालीपारि दोधारा चाँदनी नगरपालिका–८ कञ्चनभोजका युवा प्रेम रोकायाले गरेको फूलखेतीले यतिबेला सबैको ध्यान तानिरहेको छ ।
तिहार नजिकिँदै गर्दा फूलका लागि ग्राहक पनि आउन थालेका छन् । यसबाहेक विभिन्न किसिमका कार्यक्रम र पूजाआजाका लागि पनि फूल खोज्दै स्थानीय आउन थालेका छन् । ‘तिहारलाई लक्षित गरेर फूल लगाएको अब तयार पनि भइसकेको छ,’ रोकायाले भने, ‘फूलहरु फुलेर बारी पुरै ढकमक्क भएको छ ।’ उनको बारीमा असोज मध्यदेखि नै सयपत्री फुल्न थालेको हो । त्यहीँ बेलादेखि माला बनाएर त्यतिकै बिक्री सुरु भएको उनले बताए । प्रति माला सयदेखि डेढ सयमा र फूल प्रतिकिलो ५ सयका दरले बिक्री भइरहेको उनले बताए ।
रोकाया तीन वर्ष अघिसम्म भारतको गुजरातमा काम गर्थे । डेढ वर्षजति होटेलमा वेटरको काम गरे । त्यसले परिवारको खर्च पनि चलाउन नसकिने भएपछि उनी घर फर्किए । घर फर्किएर उनले सुरुमा बंगुर पालन गरे । दुई वर्षमा ८० बंगुर भए । तर बंगुरले बजार नपाएपछि सस्तैमा पनि बिक्री गरेर खोर खाली गरे । त्यसपछि उनी फूल र तरकारी खेतीमा लागे । अहिले उनी बेमौसमी तरकारी र फूल उत्पादन गरिरहेका छन् । दुई वर्षअघि खटिमाबाट ४० किलोग्राम फूल ल्याएर बिक्री गर्दा राम्रै फाइदा भएपछि उनले फूलखेती सुरु गरेका हुन् ।
रोकायाले फूलसंगै तरकारी खेतीपनि गरिरहेका छन् । तरकारीबाट पनि उनले वर्षमा दुईरतीन लाखसम्म आम्दानी हुने उनले बताए । गत वर्षदेखि नै च्याउ पनि उत्पादन गरिरहेका छन् । यसवर्ष गर्मीमा मिल्की जातको च्याँउ पनि राखेका थिए । तर असार अन्तिम साताको बाढीले च्याउ खेती प्रभावित भयो । त्यसमा लगानी मात्रै संकलन भएको उनले बताए । अहिले हिउँदमा उत्पादन हुने कन्ने च्याँउ उत्पादन सुरु भएको छ । प्रति किलो अढाई सयममा बिक्री भइरहेको छ । हालसम्म ५० किलोसम्म च्याँउ बिक्री भएको रोकाया बताउँछन् ।