धनगढी: खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा आइतबारदेखि धान खरिद सुरु गरेको छ । खाद्यले धनगढीस्थित मोहनपुर, टीकापुर र सत्ती गरी तीनवटा गोदामबाट ५५ हजार क्विन्टल धान खरिद गर्न लागेको हो । खाद्यले कैलालीबाट मोटा धान मात्र खरिद गर्ने योजना बनाएको छ । यस वर्ष मोटा धानको खरिद मूल्य ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरिएको खाद्य तथा व्यापार कम्पनी धनगढीकी लेखा सहायक कल्पना विष्टले बताइन् ।
हाल तीन ठाउँबाट मात्रै खरिदको योजना भए पनि तिहारपछि भजनी, बर्दगोरिया, हसुलिया लगायत ६ ठाउँबाट खरिद गर्ने योजना रहेको विष्टको भनाइ छ । ‘स्थानीय किसानको सहजतका लागि सम्बन्धित स्थानीय तहले गोदाम र सुरक्षा प्रबन्ध गरिदिएमा थप खरिद केन्द्र पनि विस्तार गर्ने योजना छ,’ उनले भनिन् । यहाँका किसानले मसिनो र मध्यम धान प्रायः लगाउँदैनन् । कैलालीबाट यस वर्ष कुल ५५ हजार क्विन्टल मोटा धान खरिद गर्ने योजना रहेको खाद्यले जनाएको छ । एक जना किसानबाट ५० क्विन्टलसम्म धान खरिद गर्ने योजना रहेको उनको भनाइ छ । किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात, वडा कार्यालयको सिफारिस र स्वघोषणा–पत्र ल्याउनु पर्ने बताएको छ ।
खाद्य तथा व्यापार कम्पनी, लिमिटेड प्रादेशिक कार्यालय, धनगढीले गत वर्ष करिब १९ हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । किसानको समर्थन मूल्यभन्दा व्यापारीले बढी मूल्यमा धान खरिद गरेपछि किसानले व्यापारीलाई बिक्री गरेका थिए । गत वर्षको धान खरिद मूल्य ३ हजार १ सय ५८ रुपैयाँ थियो । तर, यस वर्ष भने मूल्य बढाइएको छ ।