धनगढी: कैलालीको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति कैलालीले स्थापना दिवसको अवसर पारेर आर्यघाट सरसफाई गरेको हो । नेपाल तरुण दलको ७२औ स्थापना दिवसको अवसर पारेर आर्यघाट सरसफाई कार्यक्रम राखिएको तरुण दलका गोदावरी नगरसभापति रमेश भट्टराईले जानकारी दिए । उनले निधन भएका व्यक्तिका विभिन्न सामग्री, प्लाष्टिकजन्य वस्तु, औषधीजन्य लगायतका वस्तुहरु जथाभावी फालिएको अवस्थामा तरुण दलले सरसफाई गरेको बताए । उनले आर्यघाटको सरसफाईका लागि आगामी दिनमा पनि तरुण दल सक्रिय रहने बताए ।
तरुण दलका जिल्ला अध्यक्ष निराजन खड्काले स्थापना दिवसको अवसरमा देशभरमै विभिन्न किसिमका सामाजिक कार्यहरु भैरहेको बताए । उनले सोही अवसरमा कैलाली तरुण दलले गोदावरी आर्यघाट सरसफाई गर्ने कार्य गरेको बताए । उनले आगामी दिनहरुमा पनि तरुण दल कैलालीले जिल्लाका विभिन्न क्षेत्रहरुमा सामाजिक कार्य गर्दै जाने बताए । सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवाले नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले सामाजिक कार्य गरेर समाजमा सकारात्मक सन्देश दिन खोजेको बताए । उनले समाजलाई सेवा गर्ने चिजलाई नै राजनिति भनिने हुँदा सो उद्देश्यका साथ नेपाली कांग्रेस तथा भातृ संगठनहरुले सामाजिक कार्यहरु गर्दै आईरहेका बताए ।
देउवाले गोदावरी धाम सुदूरपश्चिमबासीको प्रमुख धामका रुपमा रहेकाले यसको व्यवस्थापनका लागि सबैले सहयोग थाल्नुपर्ने बताए । ‘यो धाम विशेष गरी सुदूरपश्चिमबासीको प्रमुख धामका रुपमा परिचित छ, यो धाम व्यवस्थित गर्नका लागि गोदावरी नगरपालिकाका मेयर सापले कोसिस गरिराख्नुभएको छ’ उनले भने ‘उहाँले गुरुयोजना नै बनाएर प्रदेश एवम् संघ सरकारसँग के कस्तो सहयोग गर्न सकिन्छ भनेर समन्वय गरिराख्नुभएको छ, त्यही अनुसार दुवै सरकारबाट बजेट विनियोजन भएको छ ।’ उनले नगरको गुरुयोजना बमोजिमकै निर्माण कार्य छिट्टै अगाडी बढ्ने बताए ।
कांग्रेस कैलालीका सभापति एवम् राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले तरुण दलले गरेको कार्य एकदमै राम्रो भएको बताए । उनले यसरी समाजसेवामा लागे समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए । कांग्रेसका भातृ संगठनहरुले सामाजिक कार्यहरुमा समाजलाई सहयोग हुने कुरा गरिरहेका छन भन्ने सन्देश जाने भएको भन्दै उनले तरुण दलप्रति आभार प्रकट गरे । सरसफाई कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् पुर्वमन्त्री प्रकाश देउवा, पुवमन्त्री टेक बहादुर रैका, गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट लगायतका नेपाली कांग्रेस एवम् नेपाल तरुण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।