धनगढी । नेपाल राना थारु समाजको ८ओै महाधिवेशन असन्तुष्ट पक्षले बहिस्कार गरेका छन् । असोज २४ गते सुरु भएको महाधिवेशन विवाद भएपछि नौ दिन सम्म पनि सहमति नजुटेपछि निर्वाचन रोक्न माग गरेका थिए ।
संस्थापन पक्षले बन्द सत्रमा उठेका प्रश्नको जवाफै नदिई एकलौटी ढङ्गले निर्वाचन गराउन खोजेकोले अधिवेशन बहिस्कार गरेको समाजका आजीवन सदस्य सिताराम रानाले बताएका छन् । २४ गते महाधिवेशन अबेर राती सम्म सहमति नजुटेपछि फेरी ३० गते धनगढी १३ राजपुरको भगवती आधारभूत विद्यालयमा पुन बसेपछि सहमति जुट्न सकेको थिएन ।
असोज २४ गते बन्द सत्रमा पेस भएका संगठनिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदनमा प्रतिनिधिले विरोध गरेपछि विवाद भएको थियो । पुनः सहमतिका लागि असोज ३० गते बैठक बसेपछि २ गते सम्म प्रतिनिधीहरुको चित्तबुझ्दो जवाफ नआएपछि असन्तुष्टले महाअधिबेशन बहिस्कार गरेका छन् । शुक्रवार अबेर राति असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरी महाअधिबेशन बहिस्कार गरेको अध्यक्षका प्रत्याशी धनगढी १० जुगेडाका रवि रानाले बताएका छन् ।
उनले अधिवेशन पूर्व गाउँ समिति गठन गरी प्रतिनिधि चयन गरिनु पर्नेमा सो कार्य पनि अधुरै राखेर सम्मेलन गर्न खोजिएको आरोप लगाएका छन् । राना थारूका १ सय ३७ गाउँ मध्ये ८६ गाउँमा मात्रै समिति गठन गरिएको आजीवन सदस्य राजकुमार रानाले बताए । रानाले पूर्व समितिको अडिट रिपोर्टमै बेरुजु देखिएको र त्यसको जिम्मेवारी समेत कसैले नलगेको बताएका छन् । उनका अनुसार नेपाल रानाथारू समाजको ८ ओै अधिवेशनमा अध्यक्षका ७ जना आकाङ्क्षी मध्य ४ जनाले अधिवेशन बहिस्कार गर्ने अभियानमा हस्ताक्षर गरेका छन् ।