डडेलधुरा: अमरगढी नगरपालिका–७, कैनी टोलका स्थानीयले परम्परागत रूपमा निगालोका विभिन्न सामग्री बनाउँदै आइरहेका छन् । अन्न भण्डारणदेखि दैनिक जीवनमा उपयोगी सामग्री यहाँका कैनी, पार्की जातिले बनाउँदै आइरहेका छन् । विशेष गरी दसैँ, तिहार र नयाँ वर्ष बिसु पर्वका बेला कैनी जातिले निगालोबाट सामग्री बनाई खर्चको जोहो गर्दै आइरहेका छन् ।
दसैँ, तिहारका बेला धान, मकै, कोदोलगायतका अन्न बाली र नयाँ वर्षका बेला गहुँ बाली भित्र्याइने भएकाले पनि निगालोका सामग्रीको खपत हुने गरेको स्थानीय लक्ष्मण कैनीले बताए । बाली भित्र्याउने बेला ठुला चाडबाड पर्ने भएकाले निगालोका सामग्री बेचेर खर्चको जोहो गर्ने परम्परा पुर्खौंदेखि चलिआएको उनले बताए । वर्षमा आठ महिना निगालोका सामग्री बनाई भदौ, असोज, कात्तिक र फागुन, चैत महिनामा बिक्री गर्न गाउँ गाउँ जाने चलन बाजेको पालादेखिबाटै चलिआएको हो । एक जनाले मात्रै ३० बढी डुरो बनाई बिक्री गर्दा एक मौसममा एक लाख बढी आम्दानी हुने उनि बताउछन् । वर्षमा दुई पटक डुरो र डोको बिक्री गरी चाडपर्वसँगै वर्षभरि पुग्ने अन्नपात, लुगा कपडाका लागी जोहो गर्दै आइरहेको उनको भनाइ छ ।