धनगढी: मगंलबार राती डडेल्धुरामा बस दुर्घटना बाट घाइते भएकाहरुलाई उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले भेटेका छन् । धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत घाइतेहरुलाई मन्त्री भण्डारीले भेटेका हुन् । घाइतेहरुलाई भेट्दै मन्त्री भण्डारीले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भण्डारीले घाइतेहरुको उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
उपचाररत बिरामीको अवस्थापछि मन्त्री भण्डारीले माया मेट्रो अस्पतालका निर्देशक डा.मोहन साउँदलाई उपचार छिटो र सहज किसिमले गर्न निर्देशन दिएका हुन् । बस दुर्घटनामा परी मेरो गृह जिल्लाका ५ जनाले ज्यान गुमाएका छन् म अन्त्यन्तै दुखी भएको छु, डा.साउँदसगं कुरा गर्दै मन्त्री भण्डारीले भने “घाइतेका अबिभावकहरुले उपचारमा ढिला भइरहेको गुनासो गर्नुभएको छ, यसो नगर्नुहोला, तपाइले सक्ने उपचार छिटो र सहज गर्नुहोला नसक्नेलाई रेफर गरिदिनुहोला ।” डा.साउँदले सबैको उपचार माया मेट्रो अस्पतालमै सम्भव रहेको बताएका छन् । दशैँका लागी चिकित्सकहरु विदामा भएका कारण केही ढिला भएपनि आज देखी सबै जनशक्ती पुगिसक्ने बताएका थिए ।
मन्त्री भण्डारीले पवनदुत यातायात प्रा.लीका अध्यक्षसगं फोन सवांद गरी घाइतेका उपचारका लागी तत्काल बिमा रकम निकासा गर्ने प्रबन्ध मिलाउन आग्रह गरेका छन् । जति सक्दो चाँडो घाइतेका उपचार गर्न सहजीकरण गर्न उनले आग्रह गरे । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस मगंलबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा परी पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो । यस्तै पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको पनि मृत्यु भइसकेको छ । दुर्घटनामा गम्भीर घाइते बस चालक बिरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी ल्याइएको हो । उनिहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।