धनगढी — कैलाली, कञ्चनपुरलगायत तराई क्षेत्रमा थारु बस्तीहरु यतिबेला गुल्जार छन् । दसैंको उल्लास अनि ‘सखिया नाच’ को रौनकमा झुमेका छन्, थारु वस्तीहरु । दसैं सुरु भएसँगै थारु समुदायमा सखिया नाचको सिजन पनि सुरु हुन्छ । आकर्षक देखिने परम्परागत पहिरनमा सजिएर थारु समूदायका महिलाहरु सखिया नाचगान गर्दछन् । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात् साथीहरु मिलेर नाच्ने नाच भएकाले यस नाचलाई सखिया नाच भन्ने गरिएको थारु समूदायका अगुवा पूर्व राज्यमन्त्री चुनकुमारी चौधरीले बताउँछिन् ।
थारु समुदायका अनेक मौलिक संस्कृति र परम्पराहरु छन् । नाचगानहरु छन् । विभिन्न नाजगान ऋतु अनुसार हुने गर्दछन् । दसैं तिहार भने सखियाको सिजन हो । सखिया नाच्दा महिलाहरु थारु संस्कृति झल्किने पहिरन तथा गरगहनामा सजिएका हुन्छन् । उनीहरुले सप्तरङ्गी मञ्जीरा अनि गोन्या, चोली, फरियालगातयका पहिरन र बुलाकी, मगौरी, फेफी, ततैया, कारा, घुङना, झुम्का, बिजुलीवाला, कनसेहरी, ऐरम, मङ्गौरी, तरिया, पछेला, गटैया, कुकरलगौतीजस्ता गहनामा सजिएर सखिया नाच्ने गर्दछन् ।
सखिया नाच्दा पुरुषहरुले मादल बजाउँछन् । त्यही मादलको तालमा ताल मिलाएर महिलाहरुले मिजुरा बजाउँदै सामूहिक रुपमा नाचेर नृत्य गर्छन् । गाउँका भलमान्सा (अगुवा) को घरमा सुरुमा खेलिन्छ । त्यसपछि उनीहरु हरेकको घरघरमा पुग्ने गर्छन् । नाच घरमा आउदा उनीहरुलाई त्यस घरका परिवारले खानेकुरा खुवाएर पठाउँने चलन छ ।