धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका महानन्द जोशीको निन्द्रा हराएको एक वर्ष भएको छ । जोशी मात्रै होइन, उनकी श्रीमती पदमा र छोरीको अवस्थाको पनि त्यस्तै छ । एक वर्षअगाडि ७ अक्टोबर आजकै दिन महानन्दका एक्ला छोरा विपिन इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएका थिए । बन्धक बनाइएको भनिएका विपिनलाई हमासले न एक वर्षसम्म सार्वजनिक गरेको छ न त उद्धार नै हुन सकेको छ । विपिन सम्पर्कविहीन भएकै अवस्थामा एउटा दसैँ–तिहार गएर फेरि अर्को आउन थालेको छ । तर, जोशीको घरमा भने सन्नाटा जस्तै छ । विपिनबिनाको चाडपर्व मनाउने रहर कसैमा छैन ।
‘म र मेरो परिवारको यो एक वर्ष आँशु बगाएर बित्यो,’ महानन्द भन्छन्, ‘विपिन फर्किन्छन् कि भनेर बाटो हेर्दाहेर्दै बित्यो । छोराको सकुशल उद्धारका लागि गुहार गर्दागर्दै यो वर्ष बित्यो ।’ जोशी परिवारमा विपिन फिर्ता आउने आशा भने अझै जीवित छ । ‘विपिन बेपत्ता भएको एक वर्षको अवधिमा नेपालमा दुई प्रधानमन्त्री र तीन परराष्ट्रमन्त्री भएका छन्,’ महानन्द भन्छन्, ‘राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलई भेटेरै विपिनको उद्धारका लागि अनुरोध गरेका थियौं । तीनै जना परराष्ट्रमन्त्रीलाई पनि सोही आग्रह गरेका थियौं । तर, अहिलेसम्म विपिनको अवस्थासमेत सार्वजनिक भएको छैन ।’
विपिन जोशी सम्पर्कविहीन भएको तीन वर्षको अवधिमा परराष्ट्रमन्त्री भएका तीन जनामध्ये दुई जना सुदूरपश्चिमकै छन् । उनी बेपत्ता हुँदा कञ्चनपुरकै प्रतिनिधिसभा सदस्य एनपी साउद परराष्ट्रमन्त्री थिए । वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सुदूरपश्चिमकै प्रतिनिधत्व गर्दै आएकी छिन् । ‘एनपी साउदज्यूलाई सबैभन्दा बढीपटक भेटेर विपिनको उद्धारका लागि आगैह गरेका थियौं,’ विपिनका बुवा महानन्दले भने, ‘त्यसपछि परराष्ट्रमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई पनि भेटेका थियौं भने अहिलेका परराष्ट्रमन्त्री आरजु देउवालाई पनि भेटेका थियौं । सबैले विपिनको रिहाइका लागि सक्दो पहल भइरहेको आश्वासन दिएका थिए । तर, रिहाइ कहिले हुने हो थाहा छैन ।’
अहिले जोशी परिवारलाई विपिनको रिहाइका लागि नेपाल सरकारको पहल नपुगेको लाग्न थालेको छ । ‘जुन समयमा रिहाइ गर्न सकिन्थ्यो त्यो समयमा सरकारको पहुँच र पहल पुगेन जस्तो लाग्न थालेको छ,’ उनले भने, ‘पहुँच भएका धेरै देशका नागरिकको उद्धार पनि भएको थियो । तर, अहिले इजराइलमा द्वन्द्व थप बढेको छ । छोरालाई सकुशल ल्याउन आग्रह त गरिरहेका छौं । सकुशल घर फर्किन्छन् भन्ने आशा पनि छ ।’ सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनी इजरायल पुगेको २५ दिनमै हमास समूहले त्यहाँ आक्रमण गरेपछि विपिन सम्पर्कविहीन भएका थिए भने सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थी मारिएका थिए ।
विपिनलाई हमास समूहले बन्धन बनाएको भनिएको छ । यस्तै, गत साता परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले विपिनको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी थिइन् । असंलग्न राष्ट्रहरूको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा। राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले भनेकी थिइन्, ‘नेपाल विपिन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको छ ।’