धनगढी । कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदीमा लामो समय देखि जोखिममा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको छ । पुलको पूर्वतर्फको पहुँचमार्ग नदीले कटान गरेपछि दुर्घटनाको जोखिम बढेको हो ।
केहि बर्ष पहिले पुलले कैलारी गाउँपालिका वडा नम्बर ४ को केगाउँ खल्ला र वडा ४ को भगतपुर गाउँलाई जोडेको छ । पहुँचमार्ग कटानका कारण ठुला सवारी साधन ओहोरदोहोर हुन नसकेको सो पुलमा मोटरसाइकल दुर्घटनाको जोखिम रहेको स्थानीयले बताएका छन् ।
नदीले पुलको पहुँचमार्ग कटान गरेपछि फलामको साँघु बनाएर साइकल, मोटरसाइकल ओहोरदोहोर गराउने गरिएको छ । नदीले पूर्वतिर धार परिवर्तन गरेपछि कटान भई जोखिम निम्तिएको जनाइएको छ । कटान नियन्त्रणका लागि ठुलो लगानीको तटबन्ध आवश्यक पर्ने कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।
गाउँपालिकाको बजेटले कटान नियन्त्रण सम्भव नरहेको उल्लेख गर्दै उनले भने प्रदेश सरकारलाई आग्रह गरेका गरिएको छ । तर, सुनुवाइ भएको छैन । सो पुलको पूर्वतर्फको पहुँचमार्गको जमिन कटान हुन थालेपछि विगतमा टालटुल पार्ने काम गरिएको थियो ।