धनगढी । कलिलैमा रोजगारीका लागि भारत पसेका डोटी सिलगढीका तीर्थ पञ्जेडाको अनुहारमा चमक देखिन्थ्यो । उनी आफूसँगैका तीन जना दौतरीसँग दुई वर्षपछि बिहीबार घर फर्किरहेका थिए । ‘कमजोर आर्थिक अवस्थाका कारण १४ वर्षको उमेरमै परिवार छोडेर भारत पसेको थिएँ,’ भारतको महाराष्ट्रबाट फर्किने क्रममा कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका पञ्जेडाले भने, ‘दसैँ मनाउन घर फर्किन पाउँदा खुसी लागेको छ ।’
तर, उनलाई ठाउँठाउँमा भइरहेको जाँचले भने सास्ती दिइरहेको थियो । उनी पाँच सय मिटरको त्रिनगर भन्सार क्षेत्रमा सातपटक जाँचमा परेको बताउँदै थिए । ‘बारम्बार झोलीझिम्टा खोलेर देखाउँदा सास्ती भइरहेको छ,’ उनले भने, ‘नाकामा एकपटक नेपाल र एकपटक भारतीय पक्षबाट जाँच भए त भैहाल्थ्यो होला नि ।’
भारतको पुनाबाट फर्किरहेका डडेल्धुरा बगरकोटका भोजबहादुर ठकुराठीको गुनासो पनि पञ्जेडाको जस्तै थियो । ‘ठाउँठाउँमा भइरहेको जाँचले नाका पार गर्नै हामीलाई एक घण्टा समय लागिरहेको छ,’ उनले भने, ‘ठाउँठाउँमा झोलीझिम्टा खोल्न लगाइएको छ । चाडपर्वको समयमा आवागमनमा सहजता होला भन्ने विश्वास थियो । तर, अहिले पनि निकै सास्ती छ ।’
त्रिनगर नाकाको पाँच सय मिटर क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले चेकजाँच गर्दै आएको छ । केही दिनअघि मात्रै भारतको गौरीफन्टामा भएको दुई देशका सुरक्षाकर्मीको समन्वयात्मक बैठकले आवागमनलाई सहज बनाउने सहमति गरेको थियो ।
चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सहजीकरण गर्ने सहमति भएको विवरण सार्वजनिक गरेका थिए । तर, अहिले पनि आवागमनमा सास्ती कायमै रहेको डोटी पुर्वीचौकीका प्रकाश बटालाले बताए । ‘एसएसबीले सास्ती नदिए पनि भारतीय भन्सारका कर्मचारीले अहिले पनि सय र दुई सय रुपैयाँ लिइरहेका छन्,’ उनले भने, ‘भन्सारकर्मीलाई पैसा दिएपछि मात्रै छुटकारा मिलिरहेको छ ।’
यता सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले विगतको भन्दा आवागमनमा सहजता भएको दाबी गरे । ‘नाकामा बस्ने उत्तर प्रदेश प्रहरीको खासै केही भूमिका हुन्न,’ उनले भने, ‘एसएसबीले पूर्ण रूपमा सहजीकरण गरिरहेको छ । भारतीय कस्टमका विषयमा केही गुनासो आएका छन् । छलफलबाट समस्या समाधान गर्छौं ।’
उनका अनुसार सीमा सुरक्षा र भन्सार सुरक्षाका कारण सीमाका ठाउँठाउँमा चेक पोस्ट राखिएको हो । ‘सशस्त्रले त्रिनगर भन्सारको पुलपारी अर्थात् सीमा प्रारम्भ भएको स्थानमा, मोहना पुलमा र पुलवारी गरी तीन ठाउँमा पोस्ट राखेको छ,’ उनले भने, ‘पहिलो पोस्ट सीमा सुरक्षाको लागि हो । त्यहाँ प्रतिबन्ध लगाइएका वस्तुको आयात रोक्न चेकजाँच हुन्छ । मोहना पुलमा रहेको टोलीले भन्सारकर्मीलाई सघाउने काम गर्दै आएको छ । पुलवारीको पोस्टले भने भन्सार सुरक्षाको काम गर्छ, जहाँ भन्सार छलीका सामानको आयात रोक्ने काम हुँदै आएको छ ।’
आवागमन सहज बनाउन हेल्प डेस्क
त्रिनगर नाकामा आवागमनलाई सहज बनाउनका लागि हेल्प डेस्क पनि राखिएको छ । नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ भने सशस्त्र प्रहरीले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । ‘त्रिनगर सीमा इलाकाभित्र कुनै किसिमको समस्या भए समाधानका लागि हाम्रो साथ सदैव रहनेछ,’ नागरिक सहायता कक्षमा लेखिएको छ ।
तर, नागरिक सहायता कक्षमा भने गुनासो गर्नेको संख्या न्यून रहेको त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले बताएका छन् । दसैँ सुरु भएसँगै अहिले त्रिनगर सीमा नाकाबाट नेपाल फर्किनेको घुइँचो लाग्ने गरेको छ । दैनिक एक हजारको हाराहारीमा नेपालीहरू स्वदेश फर्किरहेका छन् ।