धनगढी: ८१ वर्षीय चरनसिंह राना भारतको बेङ्लुरु गएको दशकौँ भइसकेको छ । उनलाई कति वर्षको उमेरमा बेङ्लुरु गएको हुँ भन्ने ठ्याक्कै सम्झना पनि छैन । उनको नेपाल घर भने डडेल्धुराको आलिताल गाउँपालिका– ४, लामिजिल्ले हो । स्थायी रूपमा भारतमै बसे पनि चरनसिंहको डडेल्धुरा आउजाउ भने नियमित नै भइरहन्थ्यो । त्यसैले उनले विवाह पनि डडेल्धुराबाटै गरेका थिए । विवाहपछि श्रीमती मिनालाई आफूसँगै भारत लगेका चरनसिंहका दुई छोरी र दुई छोरा भए । सबैको जन्म भने भारतमै भएको थियो ।
तिनै दुई छोरीमध्येकी एक थिइन्, महालक्ष्मी । उनको बेङ्लुरुमा क्रूर हत्या भएको छ । महालक्ष्मीको ५९ टुक्रामा फ्रिजभित्र राखेको अवस्थामा २१ सेप्टेम्बरमा शव फेला परेको थियो । महालक्ष्मीका भाइ हुकुमसिंह रानाका अनुसार उनकी दिदी महालक्ष्मी रिलायन्सको एउटा फ्याक्ट्रीमा टिम लिडरको रूपमा काम गर्दै आएकी थिइन् । ‘केही समयदेखि भिनाजु हेमन्त दाससँग छुट्टिएर बसे पनि सबै कुरा राम्रै चलेको थियो,’ हुकुमसिंहले भने, ‘रातदिन नभनी दिदी काममा व्यस्त हुनुहुन्थ्यो । कामले नै गर्दा खानपानमा ध्यान नदिएपछि दिदीलाई मधुमेह पनि भएको थियो ।’
हुकुमसिंहका अनुसार महालक्ष्मीको शव फेला परेको कोठामा उनी विगत ६ महिनादेखि बस्दै आएकी थिइन् । ‘दिदीले उक्त कोठा भाडामा लिएपछि सामान सार्न म र मेरी श्रीमती पनि गएका थियौँ,’ सो दिन सम्झिँदै उनले भने, ‘सोही कोठामा दिदीको शव टुक्राटुक्रामा भेटिएपछि अहिले हाम्रो सिङ्गो परिवार नै शोकमा डुबेको छ ।’
आलिताल गाउँपालिका– ४ का वडा अध्यक्ष कमलसिंह बोहराका अनुसार केही वर्षअघि मात्रै चरनसिंह नागरिकता बनाउनका लागि पुर्ख्यौली घर आएका थिए । चनरसिंहका बुबाको थर कामी भएकाले उनले पनि कामी थरबाट नै नेपाली नागरिकता बनाएका थिए । यद्यपि भारतीय कागजातमा भने चरनसिंहको थर राना नै छ । चरनसिंह भारतीय आर्मीसमेत थिए ।
भाइ हुकुमसिंहका अनुसार उनको परिवार स्थायी रूपमा बेङ्लुरु बस्न थालेको ३५ वर्ष पुगेको छ । ‘हामी सबै चार जना दिदीभाइको जन्म भारतमै भएको हो,’ उनले भने, ‘स्थायी रूपमा भारतमा बसेको ३५ वर्ष भएको छ । तर, बुबा भने झण्डै ६० वर्षभन्दा बढी समयदेखि भारतमै हुनुहुन्छ ।’ उनका अनुसार महालक्ष्मीसँग अन्तिमपटक रक्षाबन्धनको दिन भेट भएको थियो । २१ सेप्टेम्बरमा महालक्ष्मीको शव फेला परे पनि उनको मोबाइल भने २ सेप्टेम्बरदेखि नै बन्द थियो ।
भारतीय प्रहरीले शव भेटिएको भन्दा झण्डै २० दिनअघि महालक्ष्मीको हत्या भएको जनाएको छ । हुकुमसिंहका अनुसार महालक्ष्मीको क्रूर हत्याको आरोप लागेका मुक्ति रञ्जन रायले आत्महत्या गरेको खबर प्रहरीमार्फत उनको परिवारले पाएको छ । ‘मुक्ति रञ्जन र दिदीले एउटै फ्याक्ट्रीमा काम गर्दै आउनुभएको थियो,’ उनले भने, ‘दिदी टिम लिडर थिइन् भने ती व्यक्ति टिम म्यानेजर थिए । अहिले उनैले आत्महत्या गरेको खबर पाएका छौँ ।’ मुक्ति रञ्जन भारतको उडिसामा मृत भेटिएको भारतीय सञ्चारमाध्यहरूले पनि जनाएका छन् ।
उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले ती व्यक्तिको सुसाइड नोट फेला पारेको छ । उक्त नोटमा उनले नेपाली युवती महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका छन् । साथै, उनले महालक्ष्मीको हत्या गरेर गलत गरेको पनि आफ्नो सुसाइड नोटमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार महालक्ष्मी र मुक्ति रञ्जनबीच प्रेम सम्बन्ध थियो । महालक्ष्मीले मुक्ति रञ्जनलाई विवाहका लागि दबाब दिइरहेकी थिइन् । तर, मुक्ति रञ्जन भने विवाह गर्न इच्छुक थिएनन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले बेङ्लुरुबाट भाग्ने क्रममा आफ्ना भाइलाई महालक्ष्मीको हत्या गरेको बताएका थिए ।