धनगढी: सुदूरपश्चिममा धान नकाट्न आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै शनिबार सम्म धान नकाट्न आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रभाव हुने जलवाष्फयुक्त आवाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान भएको जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले सचेत रहन र सो अवधिमा धान नकाट्न आग्रह गरेको छ ।
विज्ञप्तीमा पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला र खहरे खोलामा पानीको जलप्रवाहले पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।