धनगढी । बझाङको छबिसपाथिभेरामा लघु जलविद्युतको सेवा बन्द भएपछि स्थानीय अन्धकारमा बस्न बाध्य छन् । छबिसपाथिभेरा गाउँपालिका ७ नौरा घट्टेगाउँका बासिन्दा डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य भएका हुन् ।
स्थानीय सुवास मण्डेलले घट्टेखोला लघु जलविद्युत करिब डेढ महिनादेखि अवरुद्ध रहेको बताए । उनले विद्युत् सेवा अवरुद्ध भएको लामो समय बित्दा पनि सुचारुका लागि सम्बन्धित निकायबाट कुनै सुरसार नदेखिएको बताए । विद्युत् उपभोक्ता समिति र स्थानीय सरकारले पनि चासो देखाएको छैन ।
लघु जलविद्युत आयोजनाको डाइनामा बिग्रिएपछि मर्मत गर्न नसक्दा बन्द भएको उपभोक्ताले बताएका छन् । लामो समयदेखि सञ्चालन हुँदै आएको ४ किलोवाट क्षमताको डाइनामामा अहिले खिया लागेर बिग्रिसकेको विद्युत् अपरेटर कलक मण्डेलले बताए । उनले मेसिन नै ल्याउनुपर्ने र प्राविधिकलाई बोलाएर मात्र काम गर्न सकिने बताए ।