बैतडी: उपचार गर्न आएका बिरामीलाई एक मिनेटभित्र सेवा दिन गेटमा सिसी क्यामरासहित दोहोरो संवाद गर्ने साइरन जडान गरिएको छ । क्यामराले बिरामी देख्नेबित्तिकै साइरन बजाएपछि स्वास्थ्यकर्मी दगुर्दै गेटमै आइपुग्ने गरेका छन् । निःशुल्क प्रयोगशाला सञ्चालन गरेर १३ वटा रोगको गाउँमै उपचार हुन थालेको छ । यी सबै कामको तथ्याङ्क राख्न रजिस्टर होइन, उपकरण (डिभाइस) जडान गरी स्वास्थ्य सेवा विभागले समेत २४ सै घण्टा अवलोकन गर्न सक्ने बनाइएको छ । यो कुनै सुविधासम्पन्न अस्पतालको दृश्य नभई पञ्चेश्वर स्वास्थ्य चौकीले दिँदै अएको उपचार सेवा हो ।
जिल्ला सदरमुकामबाट करिब एक दिनको दुरीमा रहेको पञ्चेश्वर गाउँपालिका–१ को पञ्चेश्वर स्वास्थ्य चौकीले दिँदै आएको उपचार सेवा अस्पतालको भन्दा पनि सुलभ छ । जिल्ला अस्पतालले समेत प्रयोगशाला शुल्क लिने गरेका बेला पञ्चेश्वर स्वास्थ्य चौकीले निःशुल्क सेवा दिँदै आइरहेको छ ।
स्वास्थ्य संस्थाले प्रयोगशालामा गर्भवती जाँच, कालाजार, डेङ्गु, एचआइभी, हेपाटाइटिस, क्षयरोग, औलो, जन्डिस, रक्तसमूह पहिचान, ‘स्क्रब टाइफस’, बिरामीको हेमोग्लोबिन चेकजाँच, चिनी रोग, खकारलगायत विभिन्न सरुवा रोगको निःशुल्क परीक्षण गरी गाउँमै उपचार गर्दै आइरहेको छ । प्रयोगशाला सञ्चालनपछि ४३२ जनाको एचआइभी परीक्षण गर्दा चार जना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितलाई मेलौली प्राथमिक स्वास्थ्य केन्द्रको एआरटीबाट निःशुल्क औषधी खुवाउने व्यवस्था मिलाइएको छ ।