धनगढी: त्रिभुवन आर्मी फुटबल क्लबले आज भएको एन्फा महिला लिगमा सुदूरपश्चिमलाई १४-१को फराकिलो अन्तरले हराएको छ ।आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा आर्मीले सुदूरपश्चिममाथि १४-१ को फराकिलो अन्तरले हराएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा शाहीले ५, अनिता लम्जेलले २, चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, विमला विक र सन्जु कुमालले समान १ गोल गरे । अर्को गोल आत्मघाती भएको थियो । सुदुरपश्चिमले पनि १ गोल आत्मघाती रुपमा प्राप्त गर्यो ।
दिपाले २४औं, ३०औं र पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । दिपाले नै ५३औं र ६१औं मिनेटमा अर्को गोल थपुन् । ८१औं र इन्ज्युरी समयमा अनिताले गोल गरिन् ।छैठौं मिनेटमा विमला चौधरी, १५औं मिनेटमा हेमा, २५औं मिनेटमा चन्द्रा, ४५औं मिनेटमा सन्जु, ६३औं मिनेटमा विमला विक र ८७औं मिनेटमा सावित्रीले गोल गरिन् । सुदुरपश्चिमकी शान्ती विकले २१ औं मिनेटमा आत्मघाती गोल गरिन् । आर्मीकी निलम चन्दले ६७औं मिनेटमा आत्मघाती गोल गरिन् ।३ खेलमा ६ अंकका साथ आर्मी तेस्रो स्थानमा उक्लिएको छ । सुदूर समान खेलमा अंक बिहीन रहेको छ । ९ अंकसहित कोशी प्रदेश अंक तालिकाको शीर्ष र ७ अंकसहित एपिएफ फुटबल क्लब दोस्रो स्थानमा छ।
यो खेलसँगै एन्फा महिला लिगको तेस्रो राउन्डको खेलहरु पनि सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।