धनगढी । नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल विद्यार्थी सङ्गठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटीले तत्काल कैलालीको गेटामा गेटा मेडिकल विश्वविद्यालय सञ्चालनको माग गरेको छ ।
अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष गोविन्द गिरि , केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज दीपक धामी, सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने स्थायी समिति तथा केन्द्रीय सदस्यहरूले संयुक्त रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई गेटा मेडिकल कलेज सुरु गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
‘देशभरिमा सुदूरपश्चिम बाहेक ६ वटा प्रदेशमा २५ वटा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान २१४० सिटमा सरकारले भर्ना खोलेको छ तर सुप प्रदेशको गेटा विश्वविद्यालय अझै अन्योलको अवस्थामा रहेको कार्य प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ’ शिक्षामन्त्री भट्टराईलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
राज्यले अरबौँको लगानी गरेर सुविधा सम्पन्न भौतिक संरचनाहरू निर्माण गरे पनि अहिले सही व्यवस्थापन नहुँदा संरचना पनि खण्डहर बन्दै गइरहेको अनेरास्ववियुले जनाएको छ ।
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक संसद्को यही सत्रबाट पास गर्न, चिकित्सा शिक्षा आयोगको व्यवस्था अनुसार ३०० शय्याको अस्पताल सञ्चालन गरि यही सत्रबाट विशेष व्यवस्था सहित एमबिबिएस कोर्स सञ्चालन गर्न र बाँकी रहेको संरचना निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको प्रदेश अध्यक्ष मनोज राईले बताए ।
‘गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको लक्ष्य लिएर ६ अर्बभन्दा बढी सरकारी कोषबाट रकम खर्चिएर भौतिक पूर्वाधार निर्माण गरिएको छ। तर, अहिलेसम्म पनि मेडिकल शिक्षा प्रारम्भ भएको छैन । हाल ५० शय्यामा मात्र अस्पताल सञ्चालनमा छ। त्यसमा पनि स्वीकृति दरबन्दीअनुसार जनशक्ति छैन । ५० शय्याका लागि १४१ जनाको दरबन्दी स्वीकृत भएकोमा हाल ७१ जना मात्र कार्यरत छन् ।