धनगढी । धनगढीको त्रिनगर भन्सार नाकामा शनिबार राती पार्किङ गरेर राखिएका ट्याङकरका चालक र सहचालकमाथि धारिलो हरियार प्रहार भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
ट्याङकरका चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवालाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएको घटनाको अनुसन्धानका लागि पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विवाद सिर्जना गराउने भनिएका ट्याङकर सहचालक डोटीको जोरायल गाउँपालिका–१ का बिक्रम मल्ल, दिपायल सिलगढी नगरपालिका–३ का अरुण बोगटी, धनगढी–२ बस्ने १६ वर्षीय पुस्कर धामी, इसान गुरुङ र सनम राई रहेका छन् ।
उनीहरु मध्ये मल्ल र बोगटीलाई गएराति र अन्य तीन जनालाई आइतबार पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी पदमबहादुर बिष्टले जानकारी दिए । ट्याङकरका चालक र सहचालकमाथि आक्रमण गरि धारिलो हतियार प्रहार गर्ने मुस्कान सिंह सहितका केही व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको बिष्टले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीको हिरासतमा रहेका ट्याङकरका सहचालक बिक्रम मल्ल र पुस्कर धामीबीच प्रेमिकाको विषयलाई लिएर भएको विवादले घटना भएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मल्ल धनगढीको नवदुर्गा माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत एक किशोरीसँग प्रेम सम्बन्धमा थिए भने उनीसँग विवाद गर्ने पुस्कर धामी पनि ती किशोरीसँग अध्ययन गर्ने विद्यार्थी हुन् । किशोरीसँगको चिनजानका कारण उनीहरु दुवै जना मल्ल र धामी पनि फेसबुकमा साथी भएका थिए ।
दुवै जनाबीच बेलाबखत कुराकानी समेत हुने गरेको पाइएको प्रहरीको भनाई छ । प्रहरीकाअनुसार मल्लले धामीले समेत आफ्नो प्रेमिकालाई विद्यालयमा जिस्काउने गरेको कुरा थाहा पाएपछि उनीहरुबीच विवाद सुरु भएको थियो । फेसबुकमार्फत केही समयदेखि उनीहरुबीच झगडा भइरहेको थियो । धामीले बिना कारण आफूमाथि आरोप लगाएको र मल्लले प्रेमिकालाई जिस्काएको निहुँमा दुवैबीच वादविवाद चल्दै आएको थियो । अहिलेसम्म प्रत्यक्ष भेटघाट नगरेका उनीहरु तर शनिबार भने दुवै एकआपसमा भिडेका थिए ।
‘राति करिब ९ बजेतिर सँगै रहेका अर्का सहचालक अरुण बोगटीलाई लिएर धामीलाई भेट्न मल्ल मिलनचोक पुगेका थिए । धामी पनि नवदुर्गा माध्यमिक विद्यालयमै कक्षा ८ मा अध्ययनरत सनम राई र ७ मा अध्ययनरत इसान गुरुङलाई लिएर मल्ललाई भेट्न पुगेका थिए ।
भेट हुने बित्तिकै दुई पक्षबीच त्यहाँ हात हालाहाल भएको थियो ।
त्यो क्रममा मल्लले धामीको टाउकोमा फलामको रड जस्तो देखिने वस्तुले हिर्काएका थिए । ट्याङकरका अन्य सहचालकसहित १०र१५ जनाको समूह त्यहाँ पुगेपछि धामीको समूह भागेको थियो । त्यही बेला त्यहाँ पुगेको प्रहरीले अब झगडा नगर्न भन्दै सम्झाईबुझाई गरेर ट्याङकरका सबै चालक, सहचालकलाई गन्तव्यतर्फ पठाएको थियो ।
मल्ल र बोगटीबाट नराम्रोसँग कुटाइ खाएपछि पुस्कर धामीसहितका तीन जना किशोर भागेर घर गएका थिए । अन्य मानिसहरु तितरवितर भएर आ–आफ्नो गन्तव्यमा लागेपछि चालक र सहचालक पनि भन्सार अगाडी पार्किङ गरिएका इन्धन लोड गरेका ट्याङकरमा गएर सुत्छन् ।
उनीहरु धामीको समूह फेरी नआउनेमा ढुक्क हुँदै सुतेका थिए तर कुटाइ खाएका धामीमा भने बदलाको भाव थियो ।
धामीले अन्य ६र७ जना किशोरलाई घटनाबारे जानकारी दिएर आफूमाथि आक्रमण गर्ने ट्याङ्कर चालक मल्ल र सहचालक बोगटीलाई कुट्ने योजना बनाउँछन् । सोही योजनाअनुसार मुस्कान सिंहसहितका ५र६ जनाको समूह त्रिनगर भन्सार क्षेत्रमा धारिलो हतियारसहित दुवै जनाको खोजीमा निस्किन्छन् । उनीहरु त्यहाँ पुग्ने बेलासम्म ट्याङकरका चालक र सहचालकहरु भने निदाइसकेका थिए ।
तर उनीहरुले पार्किङ गरिएका ट्याङकरमाथि प्रहार गर्छन् । ट्याङकर तोडफोडमा उत्रिएको थाहा पाएपछि ना ६ ख ९४०६ नम्बरको ट्याङकरका चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय हरेन्द्र देउवाले किन त्यस्तो गरेको भनेर सोध्न जादा उनीमाथि धारिलो हतियार प्रहार गर्छन् ।
उनीसँगै रहेका सोही ट्याङकरका सहचालक कैलालीको गोदावरी नगरपालिका–४ का २२ वर्षीय अनिल देउवालाई समेत हतियार प्रहार गरेका थिए । किशोरको समूहको आक्रमणमा पर्ने दुवै जना मल्ल र धामीको विवादका कारण अनाहकमा आक्रमण परेको देखिएको प्रहरीको भनाई रहेको छ । घटना पूर्व धामीसँग देउवाद्धयको कुनै विवाद नरहेको खुलेको छ । दुवै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
।