बझाङ : पहिरो खसेका कारण बिहीबार बिहान सात बजेदेखि बन्द भएको जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । छबिसपाथिभेरा गाउँपालिका-१ मा पर्ने जालेबगर नजिक खसेको पहिरोले दुई दिनदेखि राजमार्ग अवरुद्ध छ । निरन्तर पहिरो झरिरहेका कारण राजमार्ग खुलाउन समस्या भएको प्रहरीले बताएको छ । ‘अहिले बिहान ढुंगा झर्न केही कम भएको छ, जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी युवराज भण्डारीले भने, ‘दुई वटा मेसिन लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ । उनले अबको केहीबेरमा सडक खुल्न सक्ने बताए ।
बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक दैनिक जसो अवरुद्ध हुँदा यात्रुले निकै हैरानी खेप्नु परेको छ । जिल्ला बाहिर लैजानु पर्ने बिरामी, बालबालिका, अशक्त, बालबालिका र वृद्धवृद्धाको यात्रा कष्टकर हुने गरेको छ । साउन महिना यता मात्रै जयपृथ्वी राजमार्ग ४० पटक भन्दा बढी अवरुद्ध भइसकेको छ । सडकमा खसेको पहिरोका कारण विद्युतको पोलमा क्षति पुगे पछि जिल्लाको विद्युत सेवा पनि बिहीबारदेखि नै अवरुद्ध छ ।