धनगढी । दार्चुलाको मार्मा गाउँपालिकाका बाढीपहिरोपीडित परिवार समस्यामा परेका छन् । मार्मामा साउनमा आएको बाढीपहिरोबाट ३६ परिवार प्रभावित भएका छन् । मार्मा गाउँपालिका–४, मर्मतीका २३ परिवार, वडा नं। ५ गन्याडीका छ परिवार र मुरैका दुई परिवार, वडा नं। ६ का तीन परिवार र वडा नं। ३ का दुई परिवार गरी ३६ परिवार यो वर्ष बाढीपहिरोको चपेटामा परेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताए ।
बाढीपहिरोपीडितले राहत र पुनस्र्थापनाको माग गरिरहेका छन् । अहिले ती परिवार स्थानीय विद्यालय र आफन्तकोमा बसेर रात बिताइरहेका छन् । बाढीपहिरोले पशुधनको क्षति भएको र अहिलेकै अवस्थामा हिउँदमा समेत घरमा बस्न सकिने स्थिति नरहेको स्थानीय चन्द्रा विष्टको भनाई छ ।
घरको तल्लो क्षेत्रबाट चमेलिया नदीले कटान गरिरहेको र माथिबाट पहिरोले च्यापेपछि बिचल्ली भएको उनको भनाई छ ।
बाढीपहिरोले मर्मतीगाउँमा सबैभन्दा बढी क्षति पुर्याएको छ । निर्माणाधीन तपोवन–मुरै–निम्ठा सडकका कारण बाढीपहिरो निम्तिएको स्थानीय भीमराज विष्टले बताए ।
बाढीपहिरो प्रभावित क्षेत्रमा शुक्रबार एमाले नेता गणेशसिंह ठगुन्ना नेतृत्वको टोली र केही दिनपहिले दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी स्थानीयसँग भेटघाट गरेको छ ।