धनगढी । हिन्दु महिलाले मनाउने तिज पर्व मनाउने तरिकामा सहरदेखि गाउँसम्म परिवर्तन देखिएका छन् । तिज आउनु हप्तौँअघि नै मन मिल्ने समूह बनाउने र होटेलमा दर खाने कार्यक्रम सुरु भइसकेको छ । भड्किलो बन्दै गएको तिज सामान्य महिलाका लागि ‘मन अमिलो’ बन्ने पर्व हुन थालेको छ । तिज पर्व भड्किलो र विकृति भित्रिँदै गएको भन्दै कैलालीको घोडाघोडी नगरपालिकाका महिलाले गौरा तथा तिज मिलन कार्यक्रम आयोजना गरी पर्वको मौलिकतामा जोड दिएका छन् ।
घोडाघोडी महिला सञ्जाल गठन गरी पछिल्लो समय घोडाघोडीका महिला विकृति र विसङ्गतिविरुद्ध एक हुन थालेका हुन् । सञ्जालका अध्यक्ष रमा आचार्यले घोडाघोडी नगरपालिकाका सबै वडाका महिलालाई सञ्जालमा जोड्दै महिला हिंसा, विकृति, विसङ्गतिविरुद्धको अभियान सञ्चालन गरेको बताइन् । तिजको मौलिकता जोगाउन नगर क्षेत्रका ६० जना महिला एकजुट भई मादलको तालमा जनचेतनामूलक तथा मौलिक तिज गीतमा रमाएको उनको भनाई छ ।
अध्यक्ष आचार्यले होटलमा दर खाने र डिजेमा नाच्ने प्रचलनले तिजको मौलिकता हराउँदै गएको बताइन् । सञ्जालको आयोजनामा घोडाघोडी मन्दिरनजिक रहेको वनभोज स्थलमा मादलको तालमा महिलाले विभिन्न तिजका भाकामा रमाउँदा कतिपयले वर्षौंपछि यसरी रमाउन पाएको बताए ।