बाजुरा: बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रूपमा अँगाल्न थालेका छन् । यहाँ उत्पादित स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल आयआर्जनको मुख्य स्रोत बन्ने सम्भावना बढेको छ । मुलुक सङ्घीय संरचनामा रूपान्तरण भएसँगै स्थानीय तहको निर्माण र ग्रामीण बस्ती सडक सञ्जालसँग जोडिएकाले पछिल्लो समय फलफूल खेतीप्रति आकर्षण बढेको हो । स्थानीयले फलफूल खेतीलाई आयआर्जन व्यवसायकै रूपमा लिन थालेका हुन् । स्याउ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो रहेकाले पछिल्लो समय धेरै किसान फलफूल खेतीतर्फ आकर्षित बन्दै गएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पहिला पहिला स्थानीय जातको मात्र स्याउ उत्पादन हुन्थ्यो । कृषिमा आधुनिकीकरण हुन सकेको थिएन । कृषि ज्ञान केन्द्रले पछिल्लो समय साइबेरियामा उत्पादन हुने गरेको गोल्डेन गाला, फुजी स्याउका बोट वितरण गरेको छ । मनाङबाट ल्याइएको उन्नत जातको स्याउका कारण उत्पादन वृद्धि हुन थालेको हो । नयाँ जातको स्याउ राम्रो उत्पादन हुने गरेको किसान बताउँछन् । स्वामीकार्तिक खापर गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावतले स्याउको उत्पादन राम्रो हुन थालेपछि आफूहरूले यसलाई व्यवसायका रूपमा लिन थालेको बताए । उनले भने, “स्याउ खेती जीविकोपार्जनमा निकै सहज देखेपछि मैले करिब सात सय रोपनीमा स्याउ खेती गरेको छु । ती स्याउ यति बेला राम्रोसँग फलेका छन् ।” स्याउ, सुन्तला, ओखर, कागतीलगायतका फलफूललाई स्थानीय सरकारले बजारसम्म बिक्री गर्न अनुदानको व्यवस्था गर्दै आएको छ ।
स्थानीय तह तथा सरकारी निकायको सहयोगका कारण पनि किसान फलफूल खेतीमा लाग्न थालेका रावलले बताए । स्वामीकार्तिक खापर गाउँपालिका स्याउ खेतीका लागि उर्वर मानिएको छ । गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले यहाँको हावापानी निकै राम्रो भएकाले पछिल्लो समय किसानलाई स्याउ खेतीतर्फ आकर्षित गर्दै आएको बताए । उनका अनुसार गाउँपालिकाले बाँझो जमिनमा पनि स्याउ खेती गर्ने अभियान सुरु गरेको छ । त्यसका लागि किसानलाई नयाँ जातको स्याउको बिरुवासमेत दिने गरेको छ ।
स्थानीय किसानले उत्पादन गरेका स्याउ तथा कागती गाउँपालिकाले देशका विभिन्न ठाउँमा बिक्री गर्न ढुवानी अनुदानबापत सहयोग गर्दै आएको जानकारी अध्यक्ष रोकायाले दिए। करिब ३७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।