धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताउनु भएको छ । गौरा पर्व मनाउन बुधबार धनगढी पुग्नुभएकी मन्त्री राणाले गौराको पूजाअर्चनापछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सो कुरा बताएकी हुन् ।
हरेक वर्ष गौरा पर्व मनाउन मन्त्री राणा धनगढीस्थित घरमा आउने गछिन् । धनगढी घरमा हाममी हरेक वर्ष गौराको पूजा अर्चना गर्दै आएका छौँ । यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएको उनले बताइन् ।
शनिबारदेखि आफूले गौराको ब्रत बसेको उनको भनाई छ । कार्य व्यस्तताका कारण यसपटक गौरा विसर्जन गर्न धनगढी पुगेकी राणाले गौराले समाजिक एकता र भाइचाराको सम्बन्ध कायम गरेको दावी गरिन् ।
मन्त्री राणालाई बुधबार बिहान धनगढी विमानस्थलमा कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए । स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलगायतका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।
मन्त्री राणाले घरमा पुग्ने वित्तिकै गौरादेवीको दर्शन गर्नुका साथै पूजाअर्चना समेत गरेकी थिइन् । अहिले धनगढीको देउवा निवासमा नेता कार्यकताको उपस्थीतीमा देउडा खेल चलिरहेको छ । मन्त्री राणा दुई दिन धनगढीका विभिन्न कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ ।