धनगढी । बाजुरा सदरमुकाम मार्तडी जोड्ने बल्दे–अम्कोट सडकखण्डको मर्मत कार्य अघि बढाइएको छ । गत वर्षदेखि अवरुद्ध यो सडक बलियो बनाउन मर्मत सुरु गरिएको हो । सडक डिभिजन कार्यालय अछामले बारम्बार अवरुद्ध हुँदै आएको बल्दे–अम्कोट सडकखण्ड मर्मत तीव्र रूपमा अघि बढाइएको जनाएको छ । बर्खाको बेला यो सडक पटक पटक अवरुद्ध हुँदै आएको छ ।
बुढीगङ्गा नगरपालिका–१ र २ को बिचमा रहेको बल्दे–अम्कोट सडकलाई बर्खाको समयमा अवरुद्ध हुन नदिने गरी निर्माण तथा मर्मत भइरहेको सडक डिभिजन कार्यालयका सुपरभाइजर गोकुल गिरीले बताए । बर्खाको समयमा लगातार परेको पानीका कारण पहिरो जाने क्रम जारी रहेकाले सडक अवरुद्ध हुने र डोजरले दैनिक सफाइ गर्ने गरेको उहाँले बताउनुभयो । विगत वर्षका तुलनामा यो वर्ष भने साँफे–मार्तडी सडक नियमित सुचारु भएको गिरीले जानकारी दिए ।
विगतका वर्षमा बल्दे–अम्कोट सडकखण्डमा पहिरो जाँदा स्थानीयवासी सदरमुकाम मार्तडीसम्म पैदल नै आउजाउ गर्न बाध्य भएका थिए । बुढीगङ्गा नगरपापालिका–२, बल्दे बजारका व्यापारी वीरबहादुर थापाले सरसामान ढुवानीमा पनि निकै समस्या हुने गरेको बताए ।
अछामको साँफेदेखि मार्तडीसम्म ५७ किलोमिटर छ । यो सडक बाजुराको इकडी खोलादेखि मार्तडीसम्म ४२ किलोमिटर छ । २०७१ देखि २०७५ सालसम्म साँफे–मार्तडी सडक कालोपत्रेको काम सकिए पनि त्यसलाई २०७६ सालमा मात्र सडक डिभिजन कार्यालयले जिम्मा लिएको थियो ।