धनगढी । विश्व सिमसार क्षेत्र घोडाघोडी जैविक विविधतासँगै धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । थारू र पहाडी समुदायका पुजारी रहने घोडाघोडी धार्मिक क्षेत्रमा मन्दिरैपिच्छे पुजारी बस्ने गरेका छन् । विशेष तिथि तथा पर्वमा भिडभाड हुने घोडाघोडी धार्मिक क्षेत्रमा टाढा टाढाबाट समेत दैनिक दर्शन गर्न धार्मिक पर्यटक आउने गर्छन् तर मन्दिरको आम्दानी भने अहिलेसम्म लेखाजोखा सार्वजनिक गरिएको पाइँदैन ।
घोडाघोडी धार्मिक क्षेत्रमा मुख्य गरी घोडाघोडी देवीको मुख्य मन्दिर भए पनि यहाँ शिव, विष्णु, दुर्गा भगवती, हनुमान, महोन्याल बाबाको अलग अलग मन्दिर रहेका छन् । मुख्य घोडाघोडी मन्दिर र होमकुण्ड शिव मन्दिरमा बढी भक्तजनको भिडभाड हुने गर्दछ । जनैपूर्णिमाको दिन मात्र होमकुण्ड शिव मन्दिरमा आउने दर्शनार्थीले रक्षाबन्धन बाँधेबापतको १८ हजार दक्षिणा उठेको उक्त मन्दिरका पुजारी शङ्करप्रसाद सन्ज्यालले बताए । सनातन धर्म संस्कृति वेदविद्या आश्रमको बैङ्क खातामा उक्त रकम जम्मा गरेको उनको भनाई छ ।
२०५८ सालदेखि मन्दिर परिसरमै आश्रमले कार्यालय राखेर कार्यसञ्चालन गर्दै आएको छ । उक्त आश्रमले गुरुकुल शिक्षासमेत सञ्चालनमा ल्याएको छ । गुरुकुलमा कक्षा ६ देखि १० सम्म कर्मकाड र संस्कृत पढाइ हुने गरेको छ । २०७४ सालमा गुरुकुलले अनुमति पाएपछि मन्दिरकै खर्चबाट गुरुकुल सञ्चालन हुँदै आएको गुरुकुलका प्राचार्यसमेत रहेका सन्ज्यालले जानकारी दिए । त्योबाहेक घोडाघोडी मुख्य मन्दिरलगायत अन्य मन्दिरमा वार्षिक कति भेटी चढ्छ, त्यो कहाँ, कहाँ खर्च हुन्छ अहिलेसम्म कुनै लेखाजोखा पाइँदैन ।
एउटै धार्मिक क्षेत्रमा विभिन्न समितिले मन्दिरको भेटी उठाउने गरेका छन् । विभिन्न समयमा घोडाघोडी मन्दिरको आम्दानीलाई एकद्वार प्रणालीमा ल्याउनका लागि छलफल भए पनि प्रयास असफल भएको स्थानीय बताउँछन् । मन्दिरमा हुने आम्दानीलाई मन्दिरकै संरक्षण र विकासका लागि खर्च हुन नसक्दा त्यहाँका मन्दिर जीर्ण हुँदै आएका छन् । घोडाघोडी धार्मिक क्षेत्रमा विभिन्न समितिले मन्दिरको भेटी लैजाने गरेको भए पनि आश्रमबाहेक अन्य समितिले कहाँ, कसरी आम्दानीलाई सदुपयोग भयो भन्ने विषयमा स्वयं पुजारीसमेत अनभिज्ञ छन् ।