कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको लागि शाहलाई २७ सांसद आवश्यक पर्छ । उनले कांग्रेसका १८ , एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसदको मत पाएका छन् । मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ माओवादी केन्द्रका हुन् ।
सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११ सांसद हुन् । तर, बुधबार बहुमत सांसद संख्या प्रदेश सभा बैठकमा उपस्थित भएनन् । माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुवर , झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित छैनन् । त्यस्तै राप्रपाकी खेमादेवी विष्ट पनि बैठकमा उपस्थित भएकी छैनन् । माओवादीले आज विश्वासको मतको विपक्ष मतदान गर्ने जनाएपछि ह्विप लगाएको थिए ।