बाजुरा– बाजुरामा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का ३१ वर्षिया मनबहादुर विष्टको परिवारलाई क्षतिपुर्ति दिने सहमती भएको छ । साउन २६ गते साँफे–मार्तडी ३३ केभिको लाईन टेष्टिङ्गको क्रममा करेन्ट लागेर मृत्यु भएका बिष्टको परिवारलाई क्षतिपुर्ती दिने सहमती भएको हो । उनी नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र अन्तरगत ठेकेदार कम्पनी मार्फत काम गर्दै आएका थिए । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलसहित पीडित परिवार, ठेकेदार कम्पनी (ईश्वर निर्माण सेवा) र नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र बिच क्षतिपुती दिने सहमती भएको छ ।
सहमती अनुसार मृतक विष्टलाई काममा लगाउने ठेकेदार कम्पनीले मृतकका परिवारलाई तत्काल क्षतिपुर्ति स्वरुप आर्थिक रकम सहयोग गर्ने र नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रमा मृतककी श्रीमति हजारी कुमारी बडुवाल (विष्ट) लाई उनको शैक्षिक योग्यताको आधारमा मासिक ज्यालादारीमा रोजगारी दिने ग्यारेन्टी गरेपछि आफन्तहरुले शव बुझ्ने सहमति भएको जनाएको छ ।
यसअघि मृतका बिष्टका आफन्तले नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र र ठेकेदार कम्पनीकोे चरम लापरवाहीका कारण विष्टको मृत्यु भएको भन्दै शव बुझ्न मानेका थिएनन् । समतीपछि मृतक बिष्टको पोष्टमार्टम गरेर बुधबार दाहसंस्कार गरिने आफन्तले बताएका छन् ।