बेलौरी- कञ्चनपुरको बेलौरीमा चितुवाले गोठका वस्तुभाउ मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् । बस्तीमै पसेर गोठका बस्तुभाउ, कुकुर चितुवाले खान थालेपछि स्थानीय त्रसित बनेका हुन् । पछिल्लो एक सातामा बेलौरी नगरपालिका-१० भुडामा चितुवाले एक बाख्रा, दुई सुगुर, दुई कुकुर मारेको प्रहरी चौकी भुडाले जनाएको छ । बिहीबार राती मात्रै भुडाका विक्रम पन्तको कुकुर चितुवाले खाएको छ । बेलौरी मात्रै नभई जिल्लाभरि पछिल्लो समय बाघ, चितुवा बस्तीमा देखिने र आक्रमणबाट मृत्यु हुने घटना बढेका छन् ।
सिमावर्ती वन र मध्य वन क्षेत्र नजिकका बस्तीमा जंगली जानवरले घटना घटाइरहेका छन् । गत हप्ता मात्रै धान गोड्ने क्रममा दोधरा चाँदनी नगरपालिका-२ मा २६ वर्षीया महिला हिरा शाहको बाघको आक्रमण परी ज्यान गएको थियो ।