धनगढी । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३ (० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५(२१, २८(२६ र २५(२० ले हराएको हो । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ ।
लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ । पहिलो सेटको सुरुमा ५(१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६(५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६(१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०(२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५(२१ ले पहिलो सेट जित्यो ।
दोस्रो सेटको सुरुवातमा २(० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६(४, १०(५ हुँदै अग्रता लिँदै गइरहेको थियो । तर केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो २०(२० को अवस्थामा पुग्यो । त्यसपछि इरानले अग्रता लिँदै २४(२१ को अवस्थासम्म पुग्यो ।
त्यसपछि नेपालले लगातार ३ अंक जोडेर २४(२४ बनायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र अन्तमा नेपालले लगातार २ अंक जोड्दै २८(२६ ले दोस्रो सेट जित्यो ।
तेस्रो सेटमा इरानले १०(७ को अग्रता बनाएको थियो । नेपालले खेलमा फर्कदै १५(१५ बनायो । त्यसपछि अग्रता लिँदै २३(१९ को अवस्थामा पुग्यो । यो सेट नेपालले २५(२० ले जित्यो । बुधबार नै तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।