धनगढी :सुदुरपश्चिम प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नेपाली काग्रेंसका कमल बहादुर शाह नियुक्त भएका हुन् । सुदुरपश्चिममा शाह दुई पटक मुख्यमन्त्री बन्ने पहिलो सांसद भएका छन् । यसअघि पनि मुख्यमन्त्री भएका थिए । माघ २६, २०७९ मा मुख्यमन्त्री नियुक्त भएका शाहले चैत्र २२, २०८० मा राजीनामा दिएका थिए । करिब १४ महिना पछि पुन माओवादी काँग्रेससगंको गठबन्धनबाट एमालेसँगको गठबन्धनमा गाभिएपछि शाह अल्पमतमा परेका थिए । अल्पमतमा परेको ३० औँ दिनमा उनले राजीनामा दिएका थिए । केन्द्रमा एमाले माओवादी र नेकपा एकीकृत समाजवादी एक ठाउँमा उभिँदा विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका शाह करिब ४ महिना पछि आइतबार पुन मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
२०२८ साल माघ १० गते अछामको रामारोशनस्थित टरीगैरामा जन्मेका शाह बुबाको जागिरसँगै तराई झरेका थिए । उनका बुबा मंगलबहादुर शाह नेपाल प्रहरीका सेवा निवृत्त कर्मचारी हुन् । उनकी आमा चन्द्रादेवी शाह र श्रीमती निर्मला कँडेल शाह हुन् ।
टीकापुरको वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा पढेका शाहले व्यवस्थापन विषय (कमर्स) मा स्नातक गरेका छन्। २०४४ सालमा नेबिसंघ हुदै राजनीतिमा प्रवेश गरेका हुन। क्याम्पस इकाई सदस्यबाट राजनीतिमा आएका उनी २०४६ सालदेखि ५२ सालसम्म तरूण दलको खेलकुद विभागमा केन्द्रीय सदस्य भए। त्यसकै केन्द्रीय कोषाध्यक्ष र सचिव हुँदै उपाध्यक्ष भएका थिए। पार्टीको नवौं महाधिवेशनदेखि १४ औंसम्म सहासमिति सदस्य बनेका हुन्। २०४६ र २०६३ को जनआन्दोलनमा पटकपटक गरी चार महिना बन्दी जीवन पनि उनले बिताएको बताए। नेपाली कांग्रेसका नेता केशवसिंह कडायतको जीवनीबाट आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको उनी बताउँछन्।
२०७० सालको दोस्रो संविधान सभा चुनावमा कैलाली– २ बाट उम्मेदवार बनेका उनी त्यस बेला पराजित भए। २०७९ को प्रदेश सभा निर्वाचनमा उनले मुख्य प्रतिस्पर्धी एमाले छाडेर नागरिक उन्मुक्तिबाट चुनाव लडेका रतन थापालाई हराएर चुनाव जितेका हुन्। उनले १० हजार ४३३ मत पाएका थिए । चुनावपछि कांग्रेसका १९ जना प्रदेश सांसदहरूमध्ये सात जना संसदीय दलको नेता बन्न भनेर मनोनयन दर्ता भएको थियो। जसमा सबैलाई मिलाएर सहमतिमा शाह दलको नेता चयन भएका थिए ।
आइतबारको नियुक्तिसँगै शाह दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार आइतबार साँझ ५ बजेसम्मको समय तोकेका थिए । एमालेको समर्थनमा शाहले दाबी पेस गरेका थिए। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व नेपाली कांग्रेसको भागमा परेको थियो ।