काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मिडियाको सामुन्नेमा कार्य सम्पादन सम्झौता गर्ने बताएका छन् । शुक्रवार मन्त्रालय मातहतका सम्पुर्ण महाशाखा, विभाग तथा आयोजना कार्यालयका प्रमुखहरूसँगको समीक्षा बैठकमा उहाँले काममा ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्य गर्ने बताए । योजना अनुसार काम गर्न नसक्ने व्यक्तिलाई मार्ग प्रशस्त गरिदिन समेत उनले आग्रह गरे । उनले भने, ‘हाम्रा आगामी कार्यक्रमहरू दिन, बार, समय तोकेर निर्धारण गर्नेछौँ र सोही बमोजिम कार्य सम्पादन गर्नुपर्नेछ ।’
चालु खर्च शतप्रतिशत हुने र पुँजीगत खर्चका केही कार्यक्रम शून्यमै रोकिने कुरा उल्लेख गर्दै उनले भने ।,‘अब यस्तो प्रवृत्ति सहेर बस्न सकिदैँन् । यदि कोही व्यक्ति काम गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरिदिनुस् । यो कुरा म मा पनि लागु हुन्छ । ६ महिना भित्र मैलेपनि रिजल्ट दिन सकेन् भने म पनि यो जिम्मेवारीमा रहन्न । अहिले जेजे समस्या छ त्यो मलाई भन्नुस्, समाधान गर्ने मेरो जिम्मा हो । तर काममा भने कुनै कम्प्रमाइज हुदैन् ।’ उनले यस मन्त्रालय मातहतका कुनै पनि निकायमा जनगुनासो आउन नदिने बताउनुभयो । मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि १० दिने अन्तरक्रिया कार्यक्रम समेत राख्नु भएको छ ।
उद्योग मन्त्री भण्डारीले कुनै पनि व्यवसायीलाई फाइल च्यापेर मन्त्रालय आउने प्रवृत्तिको अन्त्य गर्ने बताए । सेवाहरू अनलाइन प्रणालीबाट सम्पादन गरिने उनको भनाई छ । जनशक्ति नभएको खण्डमा अहिले नै जानकारी गराउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । ‘अहिले नै भनिहाल्नुस् जनशक्ति छ की छैन पटक–पटक विनियोजन भएको बजेट खर्च गर्न नसकेर फिर्ता भएको छ । अब हामी ४ ओटै विभागका सेवा अत्यन्तै सहज रुपमा दिनेछौँ, कुनै पनि उद्योगी व्यवसायीले फाइल च्यापेर आउने रिँगाउने, घुमाउने काम हुने छैन । तपाईँहरूले कहाँ, कसरी, कसलाई जिम्मेवारी दिनुहुन्छ रोजेको भूमिका पाइनेछ तर त्यहाँ प्रश्न उठ्यो भने त्यसको सबै जिम्मा तपाइले लिनुपर्छ ।’
मन्त्री भण्डारीले आफूले नेतृत्व गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सबै कामहरू चुस्त, दुरुस्त र पारदर्शी ढङ्गबाट सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन दिए । उनले ३ महिनामा एक तिहाइ काम सम्पन्न गरिसक्न र सोही अनुसार शतप्रतिशत नतिजा दिनका लागि उच्च मनोबलका साथ काममा खटिन आग्रह गर्नुभयो । उनले भने,‘सम्माननीय प्रधानमन्त्री ज्यूले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कृषि र बन मन्त्रालयसँग निरन्तर समन्वय गरेर काम गर्ने योजना तय गर्नुभएको छ । हामी उत्कृष्ट काम गरेर परिणाम दिनेछौँ । ‘दिन दुई गुणा रात चौगुणा’ भन्ने भनाईका आधारमा काम गर्न आग्रह गर्दछु ।’