बाजुरा । बुढीगङ्गा नगरपालिकाको बेतालमाण्डौ, झाली हुँदै खप्तडछेडेदहको पुडाबाउला–टुनीसैन ग्रामीण सडक अवरुद्ध हुँदा पुल निर्माणको काम पनि ठप्प भएको छ । सडक अवरुद्ध हुँदा खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा नगरपालिका–४ को बिचबाट बग्ने बार्जुगाड खोलाको पुल निर्माणका लागि चाहिने सामग्री ढुवानीमा समस्या भएको छ ।
ग्रामीण सडक अवरुद्ध भएपछि पुल निर्माणको काम रोकिएको ठेकेदार कम्पनी एडभेन्चर साउद जेभी कन्स्ट्रक्सनले जनाएको छ । फागुनयता पुल निर्माणको काम दु्रत गतिमा भइरहेको थियो । असार दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा सामान ढुवानी गर्न सकिएको छैन । साउद कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि ईश्वर साउदले भने बर्खाको समयमा ज्यामी पाउन पनि समस्या थियो । कहाँ कहाँबाट ज्यामी ल्याएर काम सुरु भइरहेको थियो तर बाटो बन्द भएका कारण सामान ढुवानी गर्न नसकेपछि काम ठप्प भयो ।
गिट्टी ल्याएर बेतालमाण्डौमा राखेको तर अहिलेसम्म बाटो नखुलेपछि पुल निर्माणको काममा समस्या भएको साउदले बताए । बेतालमाण्डौदेखि त्रिशक्तिसम्मको सडक निर्माणका लागि बुढीगङ्गा नगरपालिकाले आठ करोड रुपियाँको लागतमा बगलामुखी कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको छ ।
त्यस्तै झालीदेखि खप्तडछेडेदह गाउँपालिकासम्मको ग्रामीण सडक निर्माणको काम प्रत्येक वर्षमा स्थानीय तहले नै मर्मत गर्दै आएका छन् । सडक कसैले पनि मर्मत नगरेपछि अहिले देउलसैन–बाइल–सिमलकोट–झाली–पुडावाउँला टुनिसैनलगायतका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न समस्या भएको स्थानीय खडक विष्टले बताए ।
बेतालमाण्डौ–त्रिशक्ति सडकको दोस्रो मोडमा काम भइरहेका बेलामा केही स्थानीयले काममा बाधा पु¥याएकाले पनि सडक निर्माणको काम रोकिएको बङ्गलामुखी कन्स्ट्रक्सनका साइड इन्चार्ज हिमशिखर डाँगीले बताए।