धनगढी । धनगढीको नोभा हस्पिटलको लापरवाहीले कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्युु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालको अगाडीको भागका सिसा फुटेका छन् । तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारी बिच झडप हुदा दुई जना घाईते भएका छन् । घाईते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । घाईतेको उपचार सारथी अस्पतामा उपचार भैरहेको छ ।
जन्डिसको समस्या लिएर ७ साउनमा नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्युु भएको थियो । अस्पतालले उपचारमा लापरवाही गरेका कारण उनको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । तर नोभा अस्पतालले अस्पताको लापारबार्हिले विरामीको मुत्यु भएको भन्ने कुरामा सत्यता नभएको जनाएको छ ।
उनीहरूले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । हस्पिटलले शुक्रबार साँझ मृतकका आफन्तसँग वार्ता गरेको थियो तर उनीहरूले जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएको भन्दै बहिष्कार गरेका थिए । सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा प्रहरीले पहरा दिइरहेको छ भने मृतकका आफन्त समेत अस्पताल बाहिर भेला भएका छन् ।