बाजुरा : टिउकी विकलाई आकाशबाट पानी पर्नेबित्तिकै चिन्ताले पिरोलिरहन्छ । अनाइखोलासँगै जोडिएको उहाँको गाउँमा खोला पस्ने डरले दिनरात जाग्राम बस्नुपर्ने बाध्यता छ । रातको त कुरै नगरौँ, दिनदहाडै खोला गाउँमा पस्ने डरका कारण बेलुका ७ बजेतिर खाना खाएपछि त्यही खोलाको चिन्तामा रात बिताउने गरेको विकले सुनाइन् । बर्खायाम सुरु हुनेबित्तिकै गाउँनजिकै भएर बगिरहेको खोला बढ्ने चिन्ताले अनाइगाउँका स्थानीय शोकमग्न छन् । टिउकी विक त्यहाँकी एक प्रतिनिधि पात्र मात्र हुन् । उनि जस्तै अन्य घरपरिवारका सदस्यलाई रातदिन जाग्राम बस्नुको अर्को विकल्प रहेन । यो गाउँ बडीमालिका नगरपालिका–९ स्थित अनाइखोला किनारामा अवस्थित छ ।
सो गाउँमा दलित परिवार मात्र बसोबास गर्दै आएका छन् । करिब १३ दलित परिवार रहेकोे अनाइगाउँ खोलामा आउने बाढीको उच्च जोखिममा परेको छ । विगत लामो समयदेखि खोला र माथिबाट आउने पहिरोको उच्च जोखिम मोल्दै आएको सो गाउँका स्थानीय अहिले थप सङ्कटमा छन् । मनसुन सुरु भएयता खोलाको बहाव निकै उच्च छ । जल तथा मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका छ जिल्लासहित बाजुरासमेत बाढीपहिरोको उच्च जोखिममा छन् । यतिबेला अनाइखोलाबाट आफूहरू असुरक्षित रहेको स्थानीय गोरख विकले बताइन् ।
उनले भनिन्, “रातभरि पानी आउँछ, उता खोलाको गड्याङगुडुङ आवाजले रातभर सुत्न सकिँदैन ।” पानी पर्नेबित्तिकै जाग्राम बस्नुपर्ने र खोला गाउँमा पस्ने हो कि भन्ने त्रासले बत्ती बालेर खोला हेर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । अर्को स्थानमा बस्ने व्यवस्था छैन, यो ठाउँ यस्तै छ, अब हामी कुन ठाउँ गएर बस्ने उनले दःखेसो पोखिन् । “गरिब दुःखीका पीडा सुनिदिने कोही छैनन्,” उनले भनिन्, “प्राकृतिक विपत्ले पनि हामी निमुखालाई नै हेप्दो रहेछ ।”