धनगढी । बर्खाको साउने झरीमा पनि मेलौली नगरपालिकाको काँडा बजारका स्थानीय बासिन्दालाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नुपर्ने बाध्यता रहेको छ । पालो कुरेर बसे पनि पानी भर्न पाउने र नपाउने टुङ्गो हुँदैन, पीडित स्थानीय भन्छन्, पालो आएन भने खोलातिर झर्नु पर्छ । खानेपानी नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि र मेलौली बहुमुखी क्याम्पसलगायत काकाकुल बनेका छन् ।
एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको मणिलेक नमुना माविमा पानीको समस्याले शौचालय बन्द गर्नुपर्ने अवस्था आएकोे शिक्षक अर्जुन कुँवरले बताए । बजारमा डेरा गरेर बस्ने क्याम्पसका विद्यार्थीलाई पढाइभन्दा खानेपानी भर्नकै चिन्ता हुने गरेको प्रधानाध्यापक भीमसिंह धामीले बताए ।
पानी नहुँदा स्वास्थ्य संस्थामा प्रसूति सेवा दिन गाह्रो भइरहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सन्जिन केसीले जानकारी दिए ।
मुहान घट्यो, जनसङ्ख्या बढ्यो
मेलौली नगरपालिकाको स्थापनासँगै काँडाबजार स्थानीय बजारका रूपमा विकास भएको छ । गाउँबाट बजारमा बसाइँ सर्नेको सङ्ख्या बढेको छ । पाटन–पञ्चेश्वर सडक कालोपत्रे भएसँगै बजार विस्तार हुँदा जनसङ्ख्या पनि बढेको छ । बजार क्षेत्रमा जनसङ्ख्या बढे पनि पानीको मुहान भने सुकेर घटेको बताइन्छ । १४ किलोमिटर टाढा रहेको ग्वाल्लेक वनको मुहानबाट मेलौलीको काँडा बजारमा पानी आउने गरेको छ । मुहानमाथि डोजर लगाएर सडक खन्दा मुहान सुकेको स्थानीय उपभोक्ता समितिका सचिव दशरथसिंह नायकले बताए ।
डोजरलगायत जथाभाबी रूपमा सडक निर्माण गर्दा खानेपानीका पाइपसमेत टुटफुट भएको उपभोक्ताले गुनासो गरेका छन् । भएको मुहान संरक्षण गरेर अर्को मुहानको पानी थप्न सके पानी आपूर्ति सहज हुने नायकले बताए ।
खानेपानी योजनाका लागि नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न निकायलाई हारगुहार गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह मेलौली भ्रमणमा आएका बेला स्थानीयले खानेपानी योजनाको माग गरेका थिए ।