धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले पहिलो पटक सेती प्रादेशिक अस्पतालका चिकित्सकलाई बोलाएर छलफल गरेका छन् । मन्त्री भाटले मंगलबार मन्त्रालयमै धनगढीस्थित सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहितका विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि चिकित्सकहरुलाई बोलाएर छलफल तथा अन्तरक्रिया गरेका हुन् ।
मन्त्री भाटले मन्त्रालयका सचिवसहितलाई राखेर अस्पतालमा रहेका समस्या समाधान र चिकित्सक प्रोत्साहनका लागि गर्नुपर्ने विषयमा छलफल गरेका थिए । छलफलमा सहभागी चिकित्सकले सुदूरपश्चिम प्रदेश सरकारको इतिहासमै पहिलोपटक सामूहिक छलफल तथा अन्तरक्रिया गरिएको बताएका छन् । यस अगाडि मन्त्री भाटले सुदूरपश्चिमभरका अस्पतालका अध्यक्षसहित मेडिकल सुपरिटेन्डेन्टलाई पनि बोलाएर सामूहिक छलफल गराएका थिए । आजको छलफलमा मन्त्री भाटले चिकित्सकका समस्या समाधानका लागि मन्त्रालयबाट पहल गरिने र सेवा चुस्त बनाउन चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।
सो क्रममा सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले सबै डिपार्टका समस्याहरु राखेका थिए । ती समस्या समाधानका लागि मन्त्री भाटले आफू प्रतिबद्ध रहेको जनाए । यस्तै सेतीमा भौतिक संरचना निर्माणसहित सेवा विस्तार र दरबन्दी बढाउने विषयमा मन्त्री पदमा हुँदामात्रै नभएर जुनसुकै जिम्मेवारीमा रहेपनी पहल गर्ने मन्त्री भाटको भनाइ छ । यस अगाडि नै सेतीको ओएण्ड एम गर्ने मन्त्री भाटले घोषणा गरिसकेको र सो फाइल मुख्यमन्त्री कार्यालयमा पुगेको बताइएको छ ।