कञ्चनपुर- कञ्चनपुर प्रहरीले ३९ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक महिलालाइ पक्राउ गरेको छ । ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमबार भीमदत्त नगरपालिका-१८ बाट सोनु विकलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीका अनुसार विकले गरगहना बनाइदिन्छु भनी गरगहना र नगद रकम लिई ठगी गरेकी थिइन् । भीमदत्त नगरपालिका-४ स्थित पशुपति सुनचाँदी पसलक सञ्चालक विक र उनका श्रीमानले विभिन्न मितिमा गरगहना बनाइदिन्छु भनी ग्राहकबाट गरगहना र नगद रकम लिई ठगी गरेको उजुरी अनुसार सोमबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले बताए ।
प्रहरीका अनुसार विकले ३९ लाख बढी रकम ठगी गरेको १५ जना ग्राहकको उजुरी परेको थियो । पक्राउ परेकी विक रकम ठगी गरी भारत फरार भएकी थिइन् । फरार विक कञ्चनपुर पुगेको खबर पाएपछि प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।