बाजुरा : बर्खाको समय झमझम पानी परेको छ, पहिरोका कारण कतिपय सडक हिलाम्मे छन् । सवारीसाधन पर्खेर बसेका यात्रुसँग सवारीचालक भने भाडामा मोलमोलाइ गरिरहेका भेटिन्छन् । दुर्गम पहाडी जिल्ला बाजुराका सर्वसाधारणले बर्खा होस् या हिउँदमा झरी लागेको बेलामा होस् वा पहिरोका कारण केही समय सडक अवरुद्ध भएमा र दसैँतिहारका बेला चालकले मुखले तोकेको भाडादरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
यहाँका यातायात व्यवसायी र चालकका लागि बर्खे झरी भाडा बढाउने बहाना बनेको छ । मुगुको धैनाका राजमल मल्ल उच्च अध्ययनका लागि काठमाडौँ पढ्न स्किे । धैनादेखि बाजुराको धुलाचौर हुँदै कोल्टी पुग्नलाई मल्लले बाजुराबाट काठमाडौँ पुग्ने भाडा खर्चेका छन् । मुगु–धुलाचौर–कोल्टी हुँदै बाजुरा सदरमुकाम मार्तडीसम्मको भाडा निकै महँगो तिर्नु परेको उनले गुनासो पोखे। मुगु हुँदै काठमाडौँ जाने भाडा निकै महँगो भएपछि बाजुराबाट काठमाडौँ जान हिँडेका मल्लले यता झन् महँगोमा परेको गुनासो राखे ।
कोल्टीदेखि मार्तडीसम्मको भाडा एक हजार पाँच सय रुपियाँ तिरेका मल्लले भने, “गाडी गुड्न थालेपछि सहज भयो तर गरिबले तिर्नै नसक्ने गरेर भाडा असुल्नु त ठिक भएन नि । पाँचसय रुपियाँ भाडा रहेको सडकमा यातायात व्यवसायीले दोब्बर÷तेब्बर भाडा असुल्ने गरेका छन् । बर्खाको समय, बाटो राम्रो छैन, पहिरो जान्छ, ज्यान जोखिममा राखेर गाडी चलाउनु पर्छ भन्ने कुरा यातायात व्यवसायी र चालकका लागि चर्को भाडा असुल्ने बहाना बनेको छ । जिल्ला प्रशासन र प्रहरीका अगाडि नै मनोमानी तरिकाले भाडा असुल्ने गरेको पीडित यात्रु बताउँछन् ।
बर्खाको समयमा ठुला सवारीसाधन मार्तडीबाट सिधै कोल्टी पुग्ने गरेका छैनन् । तीन÷चार ठाउँमा गाडी फेर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । करिब ४१ किलोमिटर दुरी रहेको यो सडकखण्डमा यति चर्को भाडा असुल्नु गैरकानुनी कार्य भएको भनाइ यात्रुको छ । गन्तव्यमा जानैपर्ने बाध्यताका कारण धेरै जसो यात्रु चालकले बोलेको भाडादरमा नै आउजाउ गर्न बाध्य छन् । पीडित यात्रु नरबहादुर विक मार्तडी–कोल्टी सडकखण्डको अनाइ हँुदै दानसागुसम्मको भाडा एक हजार पाँच सय रुपियाँ तिरेको बताउछन् । महँगो भाडा तिर्न नसक्नेहरू भने एक दिन पैदल हिँडेर आवातजावत गर्न बाध्य भएका छन् । भाडा महँगो भएका कारण कतिपय नागरिक मार्तडी–कोल्टीसम्मको आउजाउ पैदलयात्रा गर्ने गरेका छन् । सवारीसाधनमा चार घण्टा लाग्ने दुरीमा यात्रु एक दिनभर हिँडेर पुग्ने गरेका छन् ।
बर्खाको समयमा भाडामा केही तलमाथि भएको हुन सक्छ, यसलाई जटिल समस्या मान्न नहुने जवाफ प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको छ । “नियमभन्दा बढी भाडा असुल्नेलाई त कारबाही भइहाल्छ,” उनले भने । भाडाको विषयमा अहिलेको समय र परिस्थितिलाई ध्यानमा राख्नुपर्ने बुझाइ उनको छ ।
चर्को भाडा असुलेर नागरिक ठगिँदै गर्दा सम्बन्धित निकाय मौन भएर बस्न नहुने नेकपा ९एमाले० का सचिव काशी विकले बताए । उनले प्रशासन कार्यालय र प्रहरीले अनुगमन गरी चर्को भाडा असुल्नेलाई कारबाही गर्नुपर्ने बताए । सवारीटिकट काउन्टरका कर्मचारी मनोज रोकाया सडकको अवस्था साह्रै खराब भएको र यातायात व्यवसायीलाई इन्धनको पैसा उठाउन समस्या भएकाले भाडा केही महँगो भएको बताउछन् । सडक जोखिम हुँदाहँुदै पनि एक दिनभर हिँड्नुपर्ने सडकखण्डमा गाडीले तीन घण्टामा गन्तव्य स्थानमा पु¥याउँछ भने यसलाई नै यात्रुले उपलब्धिमूलक सुविधा मान्नुपर्ने भनाइ रोकायाको छ । चालक गणेश बडुवाल पनि आफूहरूको जोखिमको उचित मूल्याङ्कन यात्रुले गर्नुपर्ने बताउछन्।
सवारीधनी तथा चालक र प्रशासनलगायत सरोकारवालाहरू यात्रुसँग मनलाग्दी भाडा असुली धन्दालाई बाध्यता र परिस्थिति भन्दै आएका छन् तर नागरिक अधिकारकर्मी भने विभिन्न बहानामा चर्को भाडा असुली नागरिक तथा यात्रुमाथिको लुट र कानुनी रूपमा अपराध कार्य भएको बताउँछन् ।