कञ्चनपुर — लगातारको वर्षासँगै आएको बाढीका कारण शुक्रबार र शनिबार विस्थापित भएकाहरु घर फर्किने क्रम जारी छ । अधिकांश विस्थापित घर फर्के पनि अझै ७ सय ५ जना विद्यालयहरुमा बसिरहेको प्रहरीले जनाएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ३ स्थित जमुना आधारभूत विद्यालयमा बसिरहेका विस्थापित ।
जिल्ला प्रहरीका कार्यालयका अनुसार जिल्लाभरिमा बाढी र डुबानका कारण १ हजार परिवारका ५ हजार जना विस्थापित भएका थिए । उनीहरु नजिकैको विद्यालय र वडा कार्यालयमा बसेका थिए । बाढी र डुबान घटेपछि मंगलबारदेखि उनीहरु घर फर्किन थालेका हुन् । ‘कतिपयको घर अहिले पनि भित्र पस्न नसकिने अवस्थामा छ, कतिपय घर भत्केका छन्, उनीहरु अहिले पनि विद्यालयमै बसिरहेका छन्,’ कञ्चनपुरका डीएसपी उमेश जोशीले भने, ‘घर भत्केका र धेरै क्षति भएकाहरु घर फर्किन सकेका छैनन् ।’
डीएसपी जोशीका अनुसार बाढीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ । अहिले नै एकिन विवरण प्राप्त भइसकेको छैन ।
घर भत्केका तथा अन्य क्षति भएको विवरण संकलनको काम जारी रहेको उनले बताए ।