बैतडी : खानेपानीको धारा नहुँदा भितडा गाउँपालिकाका अधिकांश बालबालिकाको पढ्ने समय पानी बोक्नमै बित्ने गरेको छ । बालबालिका मात्रै होइन, भितडा गाउँका जनप्रतिनिधिसमेत बालबालिकासँगै खोलाबाट पानी बोकेर पिउँदै आएका छन् । पुर्चौडी नगरपालिका–४, भटनाको भितडा गाउँमा ३० घरपरिवार दलितको बसोबास छ । बालबालिकासँगै पानी भर्न खोलामा भेटिएकी बागमती चुनारा नगर कार्यपालिकाका सदस्य छिन् ।
यद्यपि खानेपानीको योजना ल्याउन नसक्दा उनि आफैँ पानी भर्न कोइराली खोला झरेकि हुन् । “जनप्रतिनिधि भएर के गर्नु रु मैले आफ्नै गाउँमा खानेपानीको योजना ल्याउन सकेकी छैन,” बागमती चुनाराले भनिन् । बजेट बाँड्ने बेला दलित महिलाको कुरा सुनुवाइ हुँदैन, हस्ताक्षर गरेर ताली पिट्न लगाएर बजेट पास हुन्छ ? बजेट कहाँ जान्छ ? केही थाहा हुँदैन उहाँले दुःखेसो राखिन् । खानेपानीको समस्याले पढ्ने समय पानी बोक्नमै बित्ने गरेको विद्यार्थी रमेश चुनाराले बताउनुभयो । उहाँले पठनपाठनको भन्दा टाढाबाट पानी बोक्नुपर्ने कुराको चिन्ता लाग्ने गरेको गुनासो गरे ।
पुर्चौडीका दलित समुदायका बालबालिकाको बिचमै पढाइ छाड्ने दर उच्च रहेको स्थानीय शिक्षक दिनेश नागारीले बताए । शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत कुराबाट दलित समुदाय अझै वञ्चित रहेका छन् । यस गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारत छन् । स्थानीय सरकारको अधिकांश बजेट बाटो खन्न र पालिकाका भौतिक संरचना निर्माणमा खर्च हुने गरेको छ । पानीका लागि १० लाख रुपियाँको योजना हुने हो भने कोइराली खोलाबाट भितडा गाउँमा खानेपानी पुर्याउन सकिने सम्भावना रहेको महिला जनप्रतिनिधि चुनाराले बताए ।