धनगढी : कर्णाली नदीमा जलसतह चेतावनी तह नजिक पुगेको छ । अविरल वर्षाका कारण सो नदीमा पानीको सतह बढ्दो क्रममा रहेको चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङले जानकारी दिए । उनका अनुसार अपराह्न ५ बजे कर्णालीमा जलसतह ९.६५ मिटर पुगेको छ । १० मिटर चेतावनी तह हो । यसैगरी, कर्णाली नदीको चिसापानी मापन केन्द्रमा पानीको सतह १०.८ मिटर पुग्नु खतरा मानिन्छ । आइतबार कर्णाली नदीको बहाव बढ्दो क्रममा रहेको गुरुङले बताए ।
यस्तै, खुटिया नदीको मुडीभर मापन केन्द्रमा पनि जलसतह बढेको छ । त्यहाँ जलसतह बढेपछि नदी आसपासका स्थानीयलाई सतर्क पारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उहाँका अनुसार अविरल वर्षाका कारण साना ठुला सबै नदीनालामा पानीको सतह बढ्दै छ । यसैबिच, घर डुबानमा परे पछि भजनी नगरपालिका–५ नयाँ बस्तीका स्थानीय हुलाकी राजमार्गमा आएको जनाइएको छ । करिब १९० परिवार घर बस्न नसकेर राजमार्गमा आइपुगेको जोशीले जनाए । भजनी नगरपालिकाका विपत् स्रोत व्यक्ति विष्णु न्यौपानेले भने केही परिवार सडकमा आएको र अरू पनि आउने क्रममा रहेको जानकारी दिए ।