धनगढी : दार्चुलामा बाढीले वस्ती जोखिममा पारेपछि ९२ जनाले आफ्नो घर छाडेका छन्। जिल्लाको मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन्। लगातारको वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बीचको गन्याड खोलाको बाढीको जोखिमका कारण आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेका छन्।
असार तेस्रो साताको अन्त्यतिर आएको वर्षाको भलले गन्याड खोलामा बाढी आउन सुरु भएको मार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महताले बताए। गन्याड दलित बस्तीका ५ परिवार र बाँकी परिवार मर्मती बस्तीका विस्थापितमा परेको उनले बताए। बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाले जनाएको छ।