बाजुरा : बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका –१ बाहुनीका किसानलाई ढुवानी अनुदानले प्याज बिक्रीमा सहज बनाएको छ । गाउँपालिकाले यहाँका किसानको बारिबाट नै ढुवानी अनुदानको व्यवस्था गरेसँगै बाहुनीका कृषकलाई प्याज बिक्रीमा सहज बनाएको हो । ढुवानी अनुदानको व्यवस्था नहुँदा प्याज बिक्रीमा समस्या हुन्थ्यो । अहिले गाउँपालिकाले बारीबाट ढुवानी अनुदानको व्यवस्था गरिदिएपछि प्याज बिक्रीमा निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका वडा नं। –१ बाहुनीका कृषक बिरभाने विकले बताए ।
उनले भने, “पालिकाले ढुवानी अनुदान दिएपछि मैले यहाँका किसानले उत्पादन गरेको सबै प्याज खरिद गर्दै जिल्लाभन्दा बाहिर बिक्री गर्ने गरेको छु ।” गाउँमा उत्पादन भएको प्याजले कतै बजार नपाउँदा सड्ने हो कि भन्ने चिन्ता पसेको थियो । अहिले गाउँपालिकाको ढुवानी अनुदानमा यो प्याज बजारमा पुर्याएसँगै धमाधम बिक्री हुनथालेपछि निकै हर्षित भएको विकले बताए ।
जिल्लाकै दुर्गम बस्ती भनेर चिनिँदै आएको बाहुनीका किसान पछिल्लो समय प्याज उत्पादनमा लागिपरेका छन् । अन्नबालीभन्दा प्याजले यहाँका किसानलाई जीविकोपार्जन गर्न सहज देखिएपछि पछिल्लो समय यहाँका किसान प्याज उत्पादनमा लागिपरेका हुन् ।