धनगढी : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले ११ सदस्यीय मन्त्रीमण्डल बनाउन लागेका छन् । बैसाख ६ गते मुख्यमन्त्री नियुक्ती भएका सोडारीले करिब दुई महिना पुग्नै लाग्दा मन्त्रीपरिषदलाई पुर्णता दिन लागेका हुन् । सोडारीले थप ८ जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।
यस्तै, एमालेका बिरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले समेत मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरुको नाम सिफारिस गरेको पुष्टि गरेको छ ।
नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ५ बजे तय गरिएको छ । मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए तर सत्तारुढ दलभित्रै मन्त्रालय विभाजन गर्ननहुने, गरेपनि आवश्यक गृहकार्य गरेर गर्नुपर्ने दबाब बढेपछि उनी रोकिएका हुन् । सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भुम िब्यवस्था, कृषी तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।