धनगढी : सुदूरपश्चिम प्रदेशमा आज सरकार बिस्तारको तयारी गरिएको छ । आज एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तयारी गरेका छन् । एमालेले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाइएको छ । एमाले स्रोतका अनुसार सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री बन्ने लाइनमा छन् । पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको दाबी छ । अन्य दुई जनाको मन्त्रालय टुङ्गिएको छैन ।
एमालेले मन्त्रीको टुङ्गो लगाउँदा माओवादी केन्द्रमा भने अझैसम्म विवाद साम्य भएको छैन । माओवादी केन्द्रले सुरुमा ओम विक्रम भाट सरल र अक्कल रावललाई मन्त्री बनाउने तयारी गरेको थियो । तर, हिजो बसेको संसदीय दलको बैठकमा माओवादीबाट सबैजसो सांसदले मन्त्रीको आकाङ्क्षा गरेपछि मन्त्रीको नाम टुङ्गो लगाउन समस्या भएको बैठकमा सहभागी माओवादीका एक सांसदले जानकारी दिए ।
माओवादीबाट रमेश धामी, ओम विक्रम भाट सरल र लक्ष्मी विक मध्ये एक जना मन्त्री बन्ने छन् भने शिव ओली, झपट साउद र अक्कल रावल मध्ये एक जना मन्त्री बन्ने छन् । आजै माओवादी संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीको नाम टुङ्गो लगाउने नभए इन्चार्ज गिरिराजमणि पोख्रेललाई जिम्मा दिने छलफल गरिएको थियो ।
स्वतन्त्र सांसद डा. तारा जोशीलाई सरकारमा ल्याउने तयारी गरिएको छ । एमालेले सरकारमा सहभागी हुने तयारी गरिरहेका बेला माओवादीले पनि नाम टुङ्गो लगाउने सके आजै सरकार बिस्तार हुने बताइएको छ । स्वतन्त्र सांसद जोशीले मन्त्रालय फुटाएर आफू मन्त्री नबन्ने बताउँदै आएका छन् ।