धनगढी : कैदीलाई रक्सी खुवाउन होटल लाने कञ्चनपुरका प्रहरी हवल्दार निलम्बनमा परेका छन् । हवल्दार रामसिंह धामीलाई निलम्बन गरिएको हो। कारगारका कैदी र प्रहरी हवल्दार तथा कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ती प्रहरी हवल्दारले व्यवसायिक अनुशासन कायम नराखेको र गम्भीर त्रुटि गरेको भन्दै कारबाही गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले हवल्दार धामीलाई गैरजिम्मेवार र गैरव्यवसायिक काम गरेको भन्दै ६ महिना निलम्बन गरिएको बताए। घटनाको विषयमा विस्तृत छानबिनसमेत भइरहेको छ।
बिहीबार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा महेन्द्रनगर बजारमा फेला परेका थिए। उनीहरू होटलमा फेला परेका थिए। नाइकेसहित प्रहरी र कर्मचारी जेलबाहिर निस्केर मदिरा सेवन गरेको विषयमा अहिले अनुसन्धान भइरहेको छ।