धनगढी : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५ वटा खर मजुर भेटिएका छन् । दोस्रो चरणमा जेठ १४ देखि १९ सम्म गरिएको गणनामा ३ भाले र २ पोथी खर मजुर भेटिएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका घाँसे मैदानमा हात्तीले स्विप विधिबाट खर मजुरको गणना गरिँदै । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षणले दोस्रो पटक गरेको गणनामा खर मजुर फेला पारेको हो । निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानमा ५ वटा खर मजुर भेटिएका हुन् । तर एउटा भालेसँग एउटा पोथीसमेत हुने भएकाले ६ वटा खर मजुर भेटिएको अनुमान गरिएको छ । दुई महिनाअघि चैत १४ देखि २१ गतेसम्म गरिएको गणनामा एउटा पनि खर मजुर नभेटिएपछि पुनः गणना गरिएको हो ।
निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानसँगै हरैया, हिरापुर, लालपानीलगायतका आधा दर्जन स्थानमा गणना गरिएको थियो । विगतमा भेन्टेड विधिबाट मात्रै खर मजुरको गणना गरिन्थ्यो भने यसपटक स्विप विधिसमेत अपनाइएको हो । भेन्टड विधिअनुसार गणकहरु एउटा स्थानमा रुख वा अग्लो ठाउँमा उभिएर नियमित रुपमा हेर्ने गर्छन् । दुई/तीन दिनसम्म एउटा स्थानमा उभिएर प्रत्यक्ष रुपमै हेरिन्छ । यस विधिअनुसार खर मजुर भेटिन सक्ने सम्भावित स्थानहरुलाई सुरुमै निर्धारण गरिन्छ ।
स्विप विधिअनुसार गणकहरु लहरै उभिन्छन् । एक जनादेखि अर्कोसम्मको दुरी ३०/४० मिटर हुन्छ । डोरी समातेर भूइँमा बढार्दै अघि बढ्छन् । घाँसे मैदानमा घाँसभित्र लुकेको अवस्थामा पनि खर मजुर बाहिर आउन सक्छ । यस पटक हात्तीबाट समेत स्विप गरेर गणना गरिएको हो । ‘पहिलो चरणमा गणना हुँदा खर मजुर देखिएन,’ निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘दोस्रो पटक भने प्रत्यक्ष रुपमा ५ र अप्रत्यक्ष रुपमा ६ वटा देखिएको छ ।’ उनका अनुसार बेलडाडी गाउँपालिका क्षेत्रमा रहेका किसान मध्यवर्ती सामुदायिक वनमा पनि एउटा खर मजुर भेटिएको छ । तर त्यसको राम्ररी पहिचान हुन सकेको छैन । ‘पहिलो चरणको गणनामा नदेखिएपछि हामी निराश थियौं,’ पंक्षी संरक्षण संघका कर्मचारी हिरुलाल डगौराले भने, ‘त्यसलगत्तै फेरि गणना गर्ने योजना थियो, तर त्यतिबेला प्रजनन् समय भएकाले डिस्टर्ब हुन सक्ने देखेर केही ढिलो गणना गरिएको हो ।’ उनका अनुसार गणनमा १६ जना प्राविधिक र २ हात्ती परिचालन गरिएको थियो ।