धनगढी । स्वास्थ्य कार्यालय कैलालीले जिल्लाका विभिन्न स्थानीय तहमा गरेको नसर्ने रोग सम्बन्धीको स्क्रिनिङ स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगको शङ्का लागेका एक हजार ७ सय ५० जना नागरिकले सेवा लिएका छन् ।
पछिल्लो समय नसर्ने रोग समुदाय स्तरमा बढ्दै गएका कारण यसको न्युनिकरणका लागी र समयमै पहिचान होस भन्ने उदेश्यले स्वास्थ्य कार्यालय कैलालीले १२ वटा स्थानमा शिविरको आयोजना गरेको थियो । आयोजना गरिएको नसर्ने रोग सम्बन्धीको स्क्रिनिङ स्वास्थ्य शिविरमा एक हजार २ सय ४८ महिला र ५ सय ३२ पुरुषले स्वास्थ्य सेवा लिएको जन–स्वास्थ्य निरिक्षक विमला ज्ञवालीले जानकारी दिईन । उनले जिल्लाको विकट स्थानीय तह मोहन्यालको कुईने आधारभुत स्वास्थ्य केन्द्र र चुरेको शान्तीनगर सामुदायिक स्वास्थ्य इकाईमा मात्रै ३ सय ७९ जनाले स्वास्थ्य सेवा लिएको बताईन । त्यस्तै जोशिपुरको झवई आधारभुत स्वास्थ्य केन्द्रमा १ सय ६६, घोडाघोडीको पहलमानपुर स्वास्थ्य चौकीमा १ सय ३६, थापापुर स्वास्थ्य चौकी भजनीमा १ सय ७७, राजिपुर आधारभुत स्वास्थ्य केन्द्र गौरीगंगामा १ सय १४, प्रतापुर स्वास्थ्य चौकी लम्कीमा १ सय ८२, कोटातुल्सीपुर स्वास्थ्य चौकी बर्दगोरीयामा १ सय ५ जनाले स्वास्थ्य सेवा लिएका छन् । त्यस्तै स्याउले आधारभुत स्वाथय केन्द्र गोदावरीमा १ सय ८८, जानकी नगर स्वास्थ्य चौकीमा १ सय २२ र धनगढी उपमहानगरपालिका २ वटा वडामा २ सय ११ नागरिकले सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
केहि शिविरमा विशेषयज्ञ चिकित्सक सहित अन्य ठाउँमा मेडिकल अधिकृत सहित स्वास्थ्य कर्र्मीहरुले नागरिकको चेकजाँचमा सहयोग गरेको जन–स्वास्थ्य निरिक्षक विमला ज्ञवालीको भनाई छ । रोग लाग्न नदिन तथा स्वस्थ भएर बाँच्न खानापान, आनीबानी र जिवनशैलीमा सुधार ल्याउन आवश्यक रहेको उनको भनाई छ । पछिल्लो समय मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मृगौला रोग तथा क्यान्सर भयावह अवस्थामा देखापरेकाले ती रोगबाट बच्ने उपायनै जिवनशैली सुधार र खानपाननै रहेकोले त्यसमा ध्यान दिन उनले सवैमा आग्रह गरिन् ।
उनले भनीन नसर्ने रोगहरुको भार दिनानुदिन बढीरहेको अवस्था छ । नसर्ने रोगको भार कम गर्नको लागि विभिन्न स्थानिय तहहर्बाट समेत बजेट विनियोजन हुन आवश्यक छ । स्वास्थ्य कार्यालय कैलालीले अब उच्च रक्तचाप केयर क्यास्केड कार्यक्रम समेत सन्चालन गर्न तयारी गरेको छ ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले यो कार्यक्रम लाई प्रभावकारी रुपमा सफल गरेको नसर्ने रोग सम्बन्धीको स्क्रिनिङ स्वास्थ्य शिविर फोकल पर्सन मिन बहादुर धामीले जानकारी दिए ।
गाउँ घरमै स्वास्थ्य सेवा पाएपछि नागरिक पनि खुशी भएका छन् । उनिहरुले आर्थिक अवस्था तथा घाउँघरमै राम्रो अस्पताल नभएको अवस्थामा समय समयमा यस्ता शिविरहरु आयोजनामा स्थानीय सरकारले पनि जोड दिनु पर्ने सुझाव दिएका छन् ।
समाजमा नसर्ने रोगका बिरामी धेरै भए तापनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गराइरहेको पाइन्छ। जनचेतनाको अभाव तथा कतिपय अवस्थामा स्वास्थ्य सेवाको पहुँच नपुग्दा नसर्ने रोग लागेकोसमेत थाहा नपाई अकालमा ज्यान गुमाउनु परेको छ। नसर्ने रोगले विस्तारै असरहरु देखाउने हुँदा सानोतिनो लक्षणलाई बेवास्ता गर्दै जाँदा अन्त्यमा रोगले एकै पटक ज्यान लिने भएकाले यसको प्रारम्भिक चरणमा ध्यान दिनु पर्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेठले जानकारी दिए । श्रेष्ठले नेपालमा नसर्ने रोगहरु पहिलेको तुलनामा अहिले दिन प्रतिदिन बढिरहेको बताए ।
यसको जोखिम तथा प्रकोप दक्षिणपूर्व एसिया तथा गरिब मुलुकहरुमा बढ्दो दरमा रहेको पाइन्छ। नसर्ने रोग सुरुमै पत्ता लगाउन सकियो भने व्यवस्थापन तथा उपचारपश्चात् अकालमा ज्यान गुम्नबाट बच्न सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत नसर्ने रोग धूमपान–मद्यपान गर्ने, अस्वस्थ्यकर खाना खाने र नियमित शारीरिक व्यायाम नगर्ने कारणले लाग्ने हुदाँ सवै नागरिक सचेत हुनु पर्ने उनको भनाई छ ।