धनगढी । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत बल्दे–अम्कोट सडक अनुगमन गरिएको छ । सरोकारवाला निकायले शनिबार सो सडक अनुगमन गरेको हो । बल्दे–अम्कोट सडक बर्खाका बेला सधैँ अवरुद्ध हुने गरेकाले यो वर्ष यातायात सेवा नियमित गर्ने उद्देश्यले अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बर्खाका समय पानी पर्नेबित्तिकै सडक भत्किने गरेकाले त्यसको समाधान गर्न र यातायात सेवा नियमित गर्न सडक अनुगमन गरिएको हो । सो सडकलाई सञ्चालन गर्न सकिन्छ वा विकल्पका रूपमा सडक सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ । बर्खा लागेसँगै मनसुन सुरु हुनुअगावै सडक अवरुद्ध हुने गरेकाले त्यसको विकल्प खोज्न अनुगमन गरिएको बुढीगङ्गा नगरपालिका–२ का यातायात व्यवसायी वीरबहादुर थापाले बताए ।
गत वर्ष लामो समयसम्म सडक अवरुद्ध हुँदा व्यापारीले सामान भरियामार्फत ढुवानी गर्न बाध्य भएका थिए । गत वर्ष असारदेखि भदौसम्म अवरुद्ध सो सडक हिउँदमा केही दिनमा गाडी सञ्चालन भए पनि बर्खाको समयमा फेरि उस्तै हुने गरेको छ ।
हिउँदका केही दिन बस, ट्रक, जिप र ट्याक्टर मार्तडीदेखि कोल्टीसम्म सञ्चालन हुँदै आए पनि बर्खामा ती सबै सवारीसाधन बल्देमै रोकिने गर्छन् । गाडी सञ्चालन भएको समयमा सस्तो र सुलभ रूपमा सामान खरिद गर्दै आएका स्थानीयवासीलाई बर्खाको समय सधैँ चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता छ ।
बर्खाको समयमा बल्दे–अम्कोट सडकको मुनि र माथिबाट एकैसाथ पहिरो बग्ने गरेकाले मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । सो सडकलाई नियमित सञ्चालन गर्ने उद्देश्यले स्थलगत सडक अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।